प्रदेश सभाका लागि धनुषा क्षेत्र नं ३ (क) मा उम्मेदवारी दिएका राजपाका नेता  कवीन्द्रनाथ ठाकुरसंग गरिएको कुराकानी :


ADVERTISEMENT


निर्वाचनको रणसंग्राममा उभिनु भएको छ । आफ्नो चुनावी अभियानलाई कसरी अगाडी बढाउनु भएको छ ?


ADVERTISEMENT

# # #


चुनावी अभियान रामैसंग अगाढी बडिरहेको छ । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको सदस्य, मधेशको प्रभावशाली नेता, विगत ३० वर्षदेखि मधेशको लागि काम गर्दै आउनु भएका राजेन्द्र महतो धनुषा ३ नं क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनु भएको छ । मैले प्रदेश सभातर्फ धनुषा क मा उम्मेदवारी दिएको छु । त्यस्तै परमेश्वर शाहले धनुष ३ को ख बाट प्रदेश सभाको उम्मेदवारी दिनु भएको छ । हामी राम्रै तरिकाले जनताको घरदैलो कार्यक्रममा व्यस्त छौँ । सबै ठाउँमा मतदातासंग कसरी भिज्न सकिन्छ, कसरी उहाँहरुसमक्ष पार्टीको सन्देश लिएर जाने भन्ने कुरामा हामी खटिएका छौँ । उम्मेदवारी दर्ताको दिनदेखि हामी चुनावी अभियानमा छौँ । जनताको अपेक्षा पनि हामीसंग छ । स्थानीय निर्वाचनमा जनकपुर उपमहानगर पालिकामा हामीले मेयर उप मेयर लगायतका थुप्रै पद जितेका छौँ । त्यसै अनुरुप अभियान राम्रै छ भन्नुपर्छ ।

जनताले राजपालाई र तपाईलाई किन भोट दिने ?

राजपालाई भोट दिनुको कारण के हो भने यो मात्रै एउटा पार्टी छ जसले मधेश र मधेशी जनताको भावनालाई प्रतिनिधित्व गर्छ । सहिदहरुको सपनालाई साकार पार्नका लागि राजपा लागेको छ । जनादेश अनुसार हामी एकतावद्ध भएका छौँ । मधेशका मुद्दाहरुलाई सम्बोधन गर्नका लागि जनताले मत दिनुपर्छ । यो सही कुरा हो कि हामीले सबै उपलब्धीहरु पूरा गरिसकेका छैनौँ । तर थोरै मात्र भएपनि हामीले प्राप्त गरेका छौँ । त्यसलाई संरक्षण गर्ने जिम्मेवारी पनि मधेशी जनताको काँधमा आएको छ । संघियतामा देश गइसेकेको छ । विकृत अवस्थामा भएपनि हाम्रो माग अनुरुप संघियता मुलूकमा आएको छ । प्रदेश नं २ मा मधेशी गठबन्धनको सरकार निर्माण गर्नुपर्ने दायित्व मधेशी जनताको हो । मधेशी जनताले रगत बगाएर संघियता ल्याएको छ । त्यसैले राजपालाई मत दिनुपर्छ ।

तपाईको बारेमा अलिकती बताइदिनुस् न । को हो कवीन्द्र नाथ थाकुर ?

२०६३ सालदेखि नै मैँले मधेश केन्द्रित राजनीतिक दल तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को संस्थापक सदस्य पनि हुँ । त्यहाँदेखि पार्टीमा अनवरत रुपले मैँले गर्नु पर्ने योगदान दिँदै आएको छु । व्यक्तिगत जीवनमा पनि मैँले आफ्नो जीविकोपार्जनका लागि व्यावसाय गरिरहेको थिएँ । विगत एक दशकदेखिको मेरो सपना के हो भने मैँले प्राप्त गरेको अनुभवबाट मधेशलाई कसरी समृद्ध गर्ने ? मधेशी जनतालाई कसरी सहयोग गर्ने ? भनेर लागिरहेको छु । म अहिले राजपाको कोषध्यक्षमा छु । मैँले राजनीति गरर गाडी किन्नुपर्ने छैन । घर बनाउनु छैन । मेरो उद्देश्य के हो भने आम मधेशी जनताले राहत अनुभूति गर्नु पर्यो । मधेशलाई विकासतिर लिएर जानु पर्यो । त्यसको लागि मैले मेरो बाँकी जीवन मधेश र मधेशी जनता र नेपालको लागि खर्चिनुपर्छ भन्ने मलाई अनुभूति भएको छ । व्यक्तिगत जीवनमा पनि मेरा छोराछोरी हुर्किसकेका छन् । आफ्नो ढैगले परिवार पाल्न सक्ने भएका छन् । त्यसैले मधेशमा एउटा सुल्झिएको व्यक्ति म हुँ जस्तो लाग्छ । राजनीतिक रुपले मेरो अनुभव कम हुन सक्ला तर मेरो विचार समाजसेवामा जानुपर्छ भन्ने मान्यता राख्ने मानिस हुँ । राजनीतिलाई मैँले समाजसेवाको कडीका रुपमा लिएको हुनाले मलाई जनताले विश्वास गर्नुहुन्छ भन्ने आशा लिएको छु ।

मधेशको विकास र समेद्धिको लागि राजनीतिमा आएको भनिरहनु भएको छ । जितेर आइसकेपनि समृद्ध मधेस बनाउनका लागि तपाईसंग कार्य योजनाहरु के के छन् ?

सबै भन्दा ठूलो कुरा के हो भने म प्रदेशको लागि उम्मेदवारी दिएको हनाले प्रदेश नं २ मा मधेशी गठबन्धनको सरकार निर्माण हुन्छ भन्ने मैँले विश्वास लिएको छु । यहाँ मधेशी गठबन्धनको सरकार गठन भएको अवस्थामा मैँले धेरैभन्दा धेरै अनुभव आर्थिक क्षेत्रमा भएको हुनाले मैँले मधेशको समृद्धिको लागि आर्थिक रुपले व्यापार व्यावसयलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर मैँले एउटा योजना बनाएको छु । खासगरी मधेश त्यसमा पनि २ नं प्रदेश कृर्षिमा आधारित भएको हुनाले कृर्षिलाई व्यापारीकरण गर्ने, आधुनिकिकरण गर्ने भन्ने मेरो योजना छ । मत्यसै अनुरुपले काम गर्छु । पछिल्लो समयमा म आशा गर्छु कि मधेशी जनताको आर्शिवाद रहेमा नयाँ सोच र समझदारीको साथ हामीले सरकार निर्माण गछौँ । मैँले जिम्मेवारी पाउँदाखेरि कृर्षिमा व्यावसायीकरण गर्नेमै म केन्द्रित हुन्छु । अन्तराष्ट्रिय स्तरमा अनुभव प्राप्त गरेको एउटा व्यावसायीको नाताले पनि जनताको बीचमा काम गर्छु भन्ने मैँले योजना लिएको छु ।

अन्त्यमा, तपाईका मतदातालाई के सन्देश दिनुहुन्छ ?

म यती मात्रै भन्छु कि अहिलेको अवस्था भनेको साधारण खालको चुनाव होइन । यो मधेशी जनता र नेपालको लागि महत्वपूर्ण चुनाव हो । त्यसैले हामीले विगत एक दशकदेखि गरेको मधेश विद्रोहको एजेण्डाहरु संस्थागत गर्ने चुनावको रुपमा यसलाई लिनुपर्छ । व्यक्तिगत रुपले कुनै उमेदवार सबल होला, कुनै उम्मेदवार अलकती कमजोर होला ।

तर भोट भनेको पार्टीलाई दिने हो । राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर हुनुहुन्छ । हाम्रो नेतृत्वलाई विश्वास गरेर तपाईहरुले एक मौका दिनुस् । तपाईका मतदानको अधिकार प्रयोग गरेर राजपालाई मतदान गरेर आफ्नो अधिकार हामीलाई सुम्पिनुस् । म विश्वास दिलाउन चाहन्छु । तपाईको अपेक्षा पूरा गर्नका लागि हामी कुनै कसर बाँकी राख्दैनौँ ।