काठमाडौँ – प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जीतसँगै एपिएफले रु पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने रु तीन लाख प्राप्त गर्यो ।


ADVERTISEMENT

# # #


एपिएफले पुलिसलाई जीतका लागि १५८ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा पुलिसले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रनमा समेटियो । पुलिसका लागि दीपेन्द्र सिह ऐरीले सर्वाधिक ६५ रनको योगदान गरे तापनि त्यो जीतका लागि पर्याप्त भएन । ५४ बल खेलेका दीपेन्द्रले तीन चौका र दुई छक्काको मद्दतमा ६५ रनको योगदान दिएका हुन् । त्यसैगरी, दिलीप नाथले २३, आरिफ शेखले १२ तथा अनिल साहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोर अङ्क जोड्न सकेनन् । गुल्सन झाले ५, रासिद खानले ४, अमृत श्रेष्ठले ३ तथा योगेन्द्र सिंह कार्कीले एक रन जोडे ।

एपिएफका किशोर महतोले तीन विकेट लिए भने अविनाश बोहोरा, अमर रौटेला र दीपक बोहराले समान एक/एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको एपिएफले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनायो । एपिएफका अमर रौटेलाले सर्वाधिक २९ रनको योगदान दिए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

यस्तै, लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए । भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदीप ऐरीले ७, दीपक बोहराले ६ रन तथा पुरण विक शून्य रनमा आउट भए । त्यस्तै, किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान तीन/तीन विकेट लिए भने गुलशन झाले २ विकेट लिए । त्यस्तै, आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान एक/एक विकेट झारे ।

सेमिफाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो भने पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजीत गर्दै फाइनल यात्रा तय गरेको हो । गत पुस २६ गतेदेखि सुरुआत भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी दश टोलीको सहभागिता थियो ।

आशिफ शेख उत्कृष्ट खेलाडी

उपाधी विजेता टोली एपीएफका ओपिनिङ ब्याटर आशिफ शेख उत्कृष्ट ब्याटर चुनिएका छन् । प्रतियोगितामा सर्वाधिक रनकर्ता बनेका आशिफले ६ खेलमा २ अर्धशतकसहित २२६ रन बनाएका थिए ।

उत्कृष्ट खेलाडी घोषितभएसँगै उनले ३० हजार नगद समेत जितेका छन् ।

यस्तै उपविजेता नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेल उत्कृष्ट ब्याटर बनेका छन् । कोरोना संक्रमण देखिएपछि अन्तिम दुई खेल गुमाएका कुशलले ४ खेलमा १८२ रन बनाएका थिए । उनले उत्कृष्ट ब्याटर भएवापत उनले २० हजार नगद जितेका छन् ।

लुम्बिनी प्रदेशका अनिल खरेल उत्कृष्ट बलर चुनिएका छन् । ४ खेलमा १० विकेट लिएका उनले २० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रसतियोगिताको विजेता टोली एपीएफले ५ लाख रुपैयाँ पुरस्कार जितेको छ । यस्तै उपविजेता पुलिसले ३ लाख रुपैयाँ हात पारको छ भने सेमिफाइनलसम्म पुगेका त्रिभुवन आर्मी र बाग्मती प्रदेशले ५०–५० हजार जितेका छन् ।