भोजपुर – यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् ।


ADVERTISEMENT


गतवर्ष प्रतिमन रु २६ हजारमा बिक्री भएको अलैँची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा घरबाट नै बिक्री भएको टेम्केमैयुङ गाउँपालिका– ५ का किसान शिवकुमार विष्टले जानकारी दिए।


ADVERTISEMENT

# # #


अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको विष्टले बताए । विष्टले भने, ‘यसवर्ष अलैँचीको मूल्य राम्रो छ । गाउँघरबाट प्रतिमन रु ४० हजार २०० का दरले बिक्री गरियो । तर यसवर्ष उत्पादन भने त्यती राम्रो भएन ।’

वर्सेनी भएको मूल्य गिरावट, गतवर्ष भएको सुख्खा खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादनमा कमी भएको उनको भनाइ छ । ‘‘गतवर्ष जस्तो उत्पादन भएन । वर्सेनी मूल्य कमी हुँदै जाँदा विस्तारमा पनि धेरै साथीले कमी गरेका छन् । गत वर्षको सुख्खा खडेरीले पनि क्षति पुर्यायो”, विष्टले भने । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची किसानले विगत वर्षको तुलनामा झण्डै दोब्बर बराबरको मूल्य पाएको बताएका छन् ।

ठेकेदारले घरबाट नै प्रति केजी एक हजारमा अलैँची लैजाने गरेको किसान जयकुमार राईले बताए । उनले भने, ‘अलैँचीबाट सात/आठवर्ष अघिसम्म राम्रो आम्दानी पाएपछि हौसिएर धानखेतमा अलैँची लगाएको थिए । गत वर्षसम्म मूल्य घटिरहँदा निकै निराश बनेका थिए । यस वर्षको मूल्यबाट भने केही राहत मिलेको छ ।’’

राईले तीन वटा बगान गरी करिब १५० रोपनी क्षेत्रफल जतिमा अलैँची लगाएको बताए । उनले भने, ‘‘विगतका वर्षदेखि नै विभिन्न सरकारी कार्यालयबाट हामीले सहयोग पाउदै आएका छौँ । जसबाट केही न केही रुपमा खेती विस्तार गर्नै पर्यो । तर मूल्यमा गिरावट आउदा समस्या थपिँदै गएको थियो । यस वर्ष भने केही सहज भएको छ ।’’

किसानको हकहितको लागि काम गरिरहेको जिल्ला अलैँची व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष नवीन प्रधानले बताए । उनले खेतीको विस्तार तथा किसानलाई विभिन्न समयमा आउने समस्याको विषयमा सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै आएको बताए ।

अध्यक्ष प्रधानले यसवर्ष मूल्य बढेपनि अलैँचीको उत्पादनमा भने कमि आएको बताए । आफूले पनि ४० रोपनी क्षेत्रमा अलैँचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको बताए । ‘‘यसवर्ष अलैँचीको मूल्य राम्रो नै छ । केही भए पनि किसानलाई राहत मिलेको छ । तर उत्पादन भने यसवर्ष खास राम्रो भएन ।’’ अध्यक्ष प्रधानले भने ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार यसवर्ष भोजपुरमा २३२ मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लामा अहिले ७१९ हेक्टर क्षेत्र अलैंची खेती योग्य जमिन रहेको भए पनि ५९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष किसानले प्रतिमन ४० हजारदेखि ४८ हजारसम्मा अलैंची बिक्री गरेका छन् । जिल्लामा अलैँचीको विस्तारको लागि छ पकेट, दुई ब्लक र छ स्थानीय तहको ३० वटा वडामा अलैँची जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।

जिल्लामा रामशाही, गोल शाही, डम्बर शाही , जिर्मले जातको अलैँचीखेती हुने गरेको छ । भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु ,किमालुङ वासिङथर्पु, तिम्मा हेलौछा ,गुप्तेश्वरलगायत १७ बढी ठाउँमा मुख्य रुपमा अलैँची उत्पादन हुनेगर्दछ ।