डोटीको जोरायल गाउँपालिका–२ बुडर बजारमा विजय गाहाले होटल व्यवसाय थालेको डेढ दशक छुन लाग्यो । बजारको आकार बढ्यो, व्यापार बढ्यो, यहाँका धेरै व्यवस्था फेरिए तर खानेपानीको संकट कहिल्यै हल भएन ।


ADVERTISEMENT


सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त मार्गको छेउमै रहेको बुडर बजारमा खानेपानीको समस्या भने दशकौंदेखि उस्तै छ । दुईसय ५० भन्दा बढी पसल भएको बुडर बजारमा पानीको प्यास मेटाउन स्थानीय व्यापारीहरू लामो समयदेखि कसरत गरिरहेका भएपनि पानीको उचित व्यवस्थापन भने अझै हुन सकेको छै्न ।


ADVERTISEMENT

# # #


विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा घरदैलोमा आएका राजनीतिक दलका उम्मेदवारहरूसँग बुडरवासीको प्रमुख माग नै पानीको प्यास मेटाउन पहल गरिदिनु प¥यो भन्ने थियो तर २०७४ सालको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रौनकले छोइसक्दा पनि पानीको व्यवस्थापन कहीँ कतैबाट नभएको होटल व्यवसायीको दुखेसो छ ।

“भोट माग्न आउने नेताहरूसँग हाम्रो माग भनेकै पानीको व्यवस्थापन, गाउँका सडक सञ्जाल विस्तारदेखि बिजुलीबत्तीको प्रबन्धसम्म नै छ,” होटल व्यवसायी गाहाले भने – “नेताहरूको आश्वासन सुनेर अघाइसक्यौं । पानीको प्यास भने बुडरवासीले अझैसम्म राम्रोसँग मेट्न पाएका छैनन् ।”

स्थानीय मौराणी मूलबाट पानी बजारसम्म ल्याएर सदुपयोग गरिरहेको भएपनि बजारको चाप बढ्दै गएसँगै पानीको समस्या चर्किन थालेको स्थानीय व्यापारीको भनाइ छ ।

पानीको समस्या हुँदा बजारभन्दा करीब ३ किलोमिटर टाढा रहेको भट्टी खोलाबाट समेत पानी ढुवानी गरेर पूर्ति गरिएको स्थानीय बासिन्दाको भनाइ छ ।

त्यसैगरी, जोरायल गाउँपालिका–२ विछलका महेश महराले पनि गाउँमा पानीको समस्या रहेको बताउनुभयो । यहाँका बासिन्दाले स्थानीय विछल खोलाबाट ढुवानी गरेर स्थानीयवासीले पानीको प्यास मेटिरहेका छन् ।

उनले आसन्न निर्वाचनमा मत माग्न आउने उम्मेदवारहरूलाई पानीको समस्या समाधानका लागि गाउँलेहरूले आग्रह गर्ने योजना बनाएको बताउनुभयो । “यस पटक पनि हाम्रो प्रमुख माग भनेकै पानीको सहज व्यवस्थापन हुनेछ” – उनले भने ।

डोटीको बडुर बजारको समस्या मात्रै होइन खानेपानी, सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश बजारहरूमा पानीको समस्या ज्यूँका त्यूँ छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको समाचार संकलनका लागि बैतडीको खोड्पे बजार पुग्दा पनि त्यहाँका व्यापारी र स्थानीयवासीले पानीकै समस्या दर्शाए ।

हरेक पटक निर्वाचनका बेला घरदैलोमा आउने नेताहरूलाई पानीको समस्या समाधान गरिदिन आग्रह गर्दासमेत हालसम्म पूरा नभएको खोड्पे बजार व्यवस्थापन समितिका पदाधीकारी बताउँछन ।

पाटन नगरपालिका–८ मा रहेको खोड्पे बजारमा विगत लामो समयदेखि पानीको समस्या रहेको खोड्पे बजार व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्टले जानकारी दिए ।

“बजार र स्थानीयवासीको पानीको प्यास मेटाउन करोडौंको योजना आएमात्रै सम्भव छ” – करिब १४ सय मिटर तल रहेको खोड्पे खोलाबाट मोटरको सहारामा बजारमा पानी पु¥याउने काम भएको जानकारी दिँदै उनले भने ।

“चुनावका बेला आउने जो कोही नेता पनि गाउँघरका समस्या समाधान गर्न तयार छु भन्छन्,” खोड्पेका होटल व्यवसायी किरणकुमार राईले भने – “पानीको समस्या त कहिल्यै पूरा हुन सकेन ।”

“अझैपनि धेरै टाढा गएर प्रतिग्यालिन रु ३० तिरेर पानीको प्यास मेटाउनुपर्ने बाध्यता छ,” उनले भने– “चुनावी नारामा मात्रै पानी दिने नेतालाई यो पटक भोट दिन्नौं ।”

त्यसैगरी, खोड्पे बजारभन्दा २३ किलोमिटर पश्चिम रहेको पाटन बजार पनि पानीको समस्याबाट मुक्त छैन । पाटन नगरपालिका–६ का गणेशबहादुर चन्दले निर्वाचनका बेला पानीको विषय प्रमुख मुद्दा बन्ने गरेको बताए । “स्मार्ट सिटी र पाटन एयरपोर्ट राष्ट्रिय महत्वका योजना भएकाले आफ्नै रफ्तारले बन्छन्,” उनले भने – “निर्वाचनका लागि आउने उम्मेदवारहरूले पानीको व्यवस्थापन गर्छु भनेर आश्वासन मात्रै दिने गरेको पनि धेरै भइसक्यो ।” शेरबहादुर सिंह/रासस