काठमाडौं – समृद्धि फाइनान्सको २०औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । कम्पनीले होटल अर्किड रिसोर्ट, मकवानपुर हेटौडामा सभा सम्पन्न गरेको हो ।


ADVERTISEMENT


कम्पनीले सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै ६ जना सञ्चालकहरु निर्वाचित समेत गरेको छ । सभाले संस्थापक समूहतर्फबाट ठाकुर प्रसाद भट्टराई, दिपक अधिकारी, गुप्त बहादुर राना र सुजन अधिकारीसँगै सर्वसाधारण समूहबाट बिनोद कुमार सुवेदी र शिवलाल पुरीलाई सञ्चालकमा निर्वाचित गरेको हो ।


ADVERTISEMENT

# # #


निर्वाचित सञ्चालकहरुको शुक्रवार नै बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा ठाकुर प्रसाद भट्टराईलाई चयन गरेको छ । यसका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ ।

कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि भने कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन ।

यस कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो । हाल रू ५४ करोड ५९ लाख ४१ हजार चुक्तापूँजी कम्पनीले रू १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ । यसअघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो ।

कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८र७९ भित्र चुक्तापूँजी रू ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी वृद्धि गर्न लागेको हो ।