काठमाडौँ – कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण)लाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय )काठमाडौँ, ललितपुर र भक्तपुर)ले आज १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् ।


ADVERTISEMENT


तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको आज बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो । आदशे उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश दिइएको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । उक्त आदेश आज राति १२ बजेदेखि लागू हुनेछ ।


ADVERTISEMENT

# # #


आदेशानुसार घर बाहिर निस्कँदा वा सार्वजनिकस्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न उपत्यकावासीमा आह्वान गरिएको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ । अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति आवश्यक पर्ने गरी आदेश जारी भएको छ ।

आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान (होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने उल्लेख छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ ।

स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरिएको छ । शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ ।

सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ । जिल्लाभित्रका निजी स्वास्थ्य संस्था र स्थानीय तहलाई विगतमा तयार पारिएको उपचार र आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन आदेश दिइएको छ । अक्सिजन सिलिण्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिण्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ । सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।

कोरोना सम्बन्धी आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने जनाइएको छ । अनुगमनमा अवज्ञा गरेको पाइएमा सङ्क्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ । यस्तै औषधिलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने तथा कालोबजारी गर्ने तथा आपूर्तिमा अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ ।