काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफू सँधै देशका लागि खेल्न तयार रहेको बताएका छन् । क्रिकेटमा देखिएको विवाद समाधानसँगै मंगलबार बन्द प्रशिक्षणमा फर्किएका मल्लले आफू सँधै टिमको कप्तान भइरहनु पर्छ भन्ने मान्यतामा आफू नरहेको बताए ।


ADVERTISEMENT


आफ्नो प्रमुख उद्देश्य भनेकै देशका लागि खेल्नु रहेको पूर्वकप्तान मल्लले सुनाए । ‘जीवनमा गतिशील हुनुपर्छ । म सँधैभरिलाई कप्तान हुन आएको पनि होइन र हुनुपर्छ भन्ने पनि होइन ।’ उनले भने, ‘म पहिले पनि खेलिरहेको थिएँ, अहिले पनि खेलिरहेको छु । त्यो देशको लागि खेल्छु, मेरो लागि खेल्छु, परिवारको लागि खेल्छु । त्यो नै प्रमुख उद्देश्य हो ।’


ADVERTISEMENT

# # #


उनले लामो समय क्रिकेट खेल्दा पनि तर बिना कप्तानबाट हटाइनु दुःखद भएकाले केही समय गाह्रो भएको बताए । यद्दपी उनले आफूहरुले कहिल्यै पनि बोर्डलाई निचो पार्ने काम नगरेको बताए । मल्लले भने, ‘त्यस्तो गर्ने भए अरु बाटो पनि अपनाउँथ्यौँ होला । खेल्दैनथ्यौँ होला । यत्रो वर्ष केही नहुँदा पनि खेलेका थियौँ भने अहिले त सम्मानजनक अवस्था छ । यसलाई अझ राम्रो बनाइनु पर्छ भन्दा अरुअरु आरोप लगाउँदा दुःख लाग्यो ।’

उनले कप्तानबाट हटाउने कारबाही भन्दा पनि आत्मसम्मानका कारण आफूलाई अप्ठ्यारो परेको धारणा राखे । उनले क्यानसँग ४ खेलाडीलाई सन् २०२२ को सुरुवाती ६ महिनामा ‘सेन्ट्रल कन्ट्याक्ट’मा नराख्ने निर्णय फिर्ता लिनुकासाथै छुटेका केही खेलाडीलाई पनि सम्बोधन गर्ने सहमति भएको जानकारी दिए ।

नेपाली क्रिकेट अघि बढाउन एक जुट भएको भन्दै उनले टिमका खेलाडीबीच कुनै मनमुटाब नभएको उल्लेख गरे । ‘विवाद समाप्त भएर हामी सबै यहाँ छौँ । तर, विवाद भन्दा पनि एउटा असन्तुष्टि थियो, विवाद बनाइयो ।’ मल्लले भने, ‘ तर, अहिलेलाई हामीसँग धेरै समय पनि छैन । हाम्रो मुख्य लक्ष्य भनेको विश्वकप खेल्ने हो । त्यसकारण खेलमा केन्द्रित हुनुपर्छ ।’

असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि आसन्न ग्लोबल छनोटका लागि सबै सबै खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन । खुट्टाको चोटका कारण सागर ढकाल र हाल बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दिप लामिछाने बाहेक सबै खेलाडी मंगलबारबाट प्रशिक्षणमा फर्किएका छन । यसअघि क्यानले कारवाहीमा राख्दै कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दिपेन्द्रसिंह ऐरीलाई हटाएको थियो भने सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने निर्णय गरेको थियो ।

त्यसपछि उत्पन्न भएको विवादमा बारम्बारको छलफलपछि क्यान र खेलाडीले केही लचकता अपनाउँदै विवाद समाधानमा पुगेको छ ।