ओखलढुङ्गा – ओखलढुङ्गामा चार हजार ३५९ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले मङ्सिर १७ गतेदेखि सुरु गरेको मतदाता नामावली सङ्कलन अभियानमा चार हजार ३५९ जना नयाँ मतदाताले नामावली दर्ता गराएका हुन् ।


ADVERTISEMENT


जिल्लाका आठमध्ये निर्वाचन कार्यालय रहेको सदरमुकामको सिद्धिचरण नगरपालिकाबाहेक सात वटा स्थानीय तहमा दुई चरणमा मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो । मङ्सिर १७ गतेदेखि २६ गतेसम्म सञ्चालित पहिलो चरणको अभियानमा मानेभञ्ज्याङमा ५१४ जना, चिशङ्खुगढीमा २७४, सुनकोशीमा ५८५ जना र खिजीदेम्बा गाउँपालिकामा ८२० जनाको नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले बताए । उनका अनुसार मङ्सिर २८ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित दोस्रो चरणको अभियानमा मोलुङ गाउँपालिकाका ४९२ जना, चम्पादेवी गाउँपालिकाका ३८६ जना र लिखु गाउँपालिकाका ३२७ जनाको नयाँ नामावली सङ्कलन छ ।


ADVERTISEMENT

# # #


सो अवधिमा जिल्ला प्रशासन कार्यालयबाट ८९५ जना, जिल्ला निर्वाचन कार्यालयबाट ४७ जनाको नामावली सङ्कलन गरिएको छ । यसअघि अद्यावधिक मतदाता नामावलीअनुसार ओखलढुङ्गामा एक लाख सात हजार ६४२ जना मतदाता थिए । चार हजार ३५९ जना थपिँदा जिल्लामा कूल मतदाताको सङ्ख्या एक लाख १२ हजार एक जना पुगेको छ ।

निर्वाचनको मिति नतोकिएसम्म मतदाता नामावलीमा नाम छुटेकाले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय खिजीदेम्बा र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गराउन सकिने जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ । निर्वाचन आयोगका अनुसार जिल्ला बाहिर रहेका जिल्लावासी नागरिकले आफू बसोबास गरेको सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने छ ।