काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताएकी छन् ।


ADVERTISEMENT


शुक्रबार मन्त्रालयमा अहिलेसम्म भएका कामकारवाही र भावी योजनाका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति लिएको जानकारी दिइन् । त्यस्तै उनले अब ग्राहकले मागेको समयमा सहजै विद्युत पाउने व्यवस्था गरिएको दाबी गरिन् ।


ADVERTISEMENT

# # #


अब घरभाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्ने व्यवस्था गरिएको उनले बताइन् । मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सहकार्य गरी आगामी दुई वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्न कार्ययोजना बनाएर काम अगाडि बढाएको जिकिर गरिन् ।

सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई तीब्रता दिएको र स्यालो तथा डीप ट्युवेल निर्माण गरी सिंचाइ सुविधा विस्तार गरिएको दावि गरिन् । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति प्राप्त भएको जानकारी पनि उनले दिइन् ।

मन्त्री भुसालले आफुले घोषणा गरेको ‘स्वदेशी विद्युत जोडौँ, विदेशी ग्यास छोडौँ’ भन्ने अभियानलाई सफल बनाएरै छाड्ने प्रतिवद्धता जनाइन् ।