काठमाण्डौं-चुनावी सभालाई सम्बोधन गर्न ओली र दाहाल छुट्टाछुट्टै हेलिकप्टरमा गएका थिए । आमसभामा सहभागी हुने कार्यकर्ता जिल्लामा चल्ने बसहरू रिजर्भ गरेर सभास्थलमा पुगेका थिए । मंसिर ९ गतेसम्म हरेक दिन फरक जिल्लामा वामपन्थी गठबन्धनको चुनावी सभा हुनेछ । त्यसमा ओली र दाहाल नै सम्बोधनका लागि पुग्नेछन् । माओवादीको विस्तारित बैठक भएको ठाउँ र भट्टराईको प्रभाव क्षेत्र मानिएको पालुङटारमा वाम गठबन्धनले शीर्ष नेतासहितको सभा गरेपछि कांग्रेस र नयाँशक्तिले पनि आगामी शनिबार सभा गर्ने भएका छन् ।


ADVERTISEMENT


एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले ‘बहुमतसहितको स्थिर सरकार निर्माण’ लागि मत दिन आग्रह गर्दै बुधबारदेखि देशव्यापी चुनावी आमसभा सुरु गरेको छ । दुवै दलका अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहालले ती सभाहरूलाई सम्बोधन गर्दै हिँड्न थालेका छन् । त्यसै सिलसिलामा बुधबार पहिलो दिन गोरखामा चारवटा र लमजुङ एउटा सभा भयो । ती सभाहरूमा ओली र दाहालले प्रतिस्पर्धी कांग्रेस र नयाँ शक्तिको गठबन्धनको भविष्य नरहेको टिप्पणी गरे । आउँदो चुनावपछि कांग्रेसको हैसियत केही नहुने भन्दै ओली र दाहालले वाम गठबन्धनको भावी सरकारले विकास र समृद्धिको लहर ल्याउने बताए ।


ADVERTISEMENT

# # #


वामपन्थी गठबन्धनका नेता नारायणकाजी श्रेष्ठको क्षेत्रलाई विशेष लक्षित गर्दै ओली र दाहाल बुधबारको चुनावी सभामा उपस्थित भएका हुन् । श्रेष्ठको निर्वाचन क्षेत्र गोरखा २ का भच्चेक तथा पालुङटारमा ओली र दाहाल दुवैले सम्बोधन गरे । गोरखा १ आरुघाटमा पनि दुवै नेताले सम्बोधन गरे । गोरखा १ कै घैरुङमा दाहालले र लमजुङको सभामा ओलीले छुट्टाछुट्टै सम्बोधन गरेका थिए । ‘कांग्रेस आत्तिएको छ, कम्युनिस्ट शासन आउने भो, उधुम हुने भयो भनेर कराएको छ,’ एमाले अध्यक्ष ओलीले पालुङटारको सभामा भने, ‘हो कांग्रेसले ठीक बुझेको छ, अब कम्युनिस्ट सरकार र सत्ता आयो आयो । यसपालिको चुनावले कांग्रेसलाई उडाउने छ, बूढो रूख ढल्छ ।’

बीपी, गणेशमानको पालाको जस्तो कांग्रेस अहिले नरहेको उल्लेख गर्दै ओलीले अब नेपालको इतिहासमा शेरबहादुर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुने दाबी गरे । ‘नेपालको इतिहासमा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर हुन्, मिति २०७६ पुस महिनासम्म कांग्रेसको प्रधानमन्त्री रहन्छ । त्यसपछि कहिल्यै कांग्रेसको सरकार हुँदैन,’ अध्यक्ष ओलीले भने, ‘म कांग्रेस कार्यकर्तालाई समवेदना भन्न चाहन्छु, तर तपार्इंहरू आत्तिनु पर्दैन, तपाईंहरूले भनेजस्तो लोकतन्त्रका लागि लडेका हामी पनि छौं, सुदृढ लोकतन्त्रसहित विकास र समृद्धि हामी दिन्छौं ।’

कांग्रेसमा विचार सिद्धान्त टाट उल्टिएको र उसबाट विकास र प्रगति नहुने ओलीको आरोप थियो । ‘बीपी र गणेशमानको पालाको कांग्रेस रहेन, विचार र सिद्धान्तको टाट उल्टियो,’ ओलीले भने, ‘मंसिर १० र २१ गतेको चुनावमा वामपन्थी आँधी तुफान आउँछ, भित्रभित्रै धोद्रो भएको बूढो रूखको जरासरा केही रहँदैन ।’ अधिकांश समय कांग्रेसको विरोधमा खर्चिएका ओलीले गोरखा २ को चुनावी प्रतिस्पर्धालाई केन्द्रित गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईप्रति पनि कटाक्ष गर्न भ्याए । ‘नयाँशक्ति पार्टीमा एकजना अध्यक्ष र केही कलाकारबाहेक अन्य कोही छैन । बाँकी भएका अलिअलि केही मान्छे मैले हिजै ९मंगलबार० एमालेमा ल्याइसकें,’ उनले भने, ‘अब यस्तो पार्टीसँग तालमेल गरेर कांग्रेस प्रजातन्त्र जोगाउन हिँडेको छ ।’ अरू कसैको मतियार र भरिया बनेर राष्ट्रनिर्माणलाई रोक्न खोज्ने ‘बबुरा’ भन्दै ओलीले भट्टराईमाथि व्यक्तिगत टिप्पणी गरे । चुनावी हतारका कारण एकता गर्न नसके पनि चुनावपछि लगत्तै दुई पार्टी एक हुने ओलीले बताए । विगतमा दुई दलबीच मतभेदहरू रहेपछि इतिहासका गल्तीहरूलाई सम्झेर अब सुखद भविष्यको यात्रा नरोकिने ओलीको कथन थियो ।

माओवादी केन्द्रका अध्यक्ष दाहालको सम्बोधनमा पनि मुख्य निसाना कांग्रेस र भट्टराई भए । उनले चितवनको आफ्नो चुनावी क्षेत्रमा कांग्रेसले राप्रपासँग गरेको तालमेलप्रति पनि आपत्ति जनाए । ‘कांग्रेस आत्तिनु पर्दैन विभाजित भएका मिले हुन्छ, तर देउवाले कुरा बुझ्नु भएन,’ अध्यक्ष दाहालले भने, ‘चितवन ३ मा हलो बोकेर हिँड्नु भएको छ, गोरखा २ मा रूखसुख छोडेर खै के–के बोकेर हिँड्नु भएको छ ।’ एउटा कम्युनिस्ट केन्द्र बनाउने र स्थिर सरकार दिने उद्देश्यले दुई पार्टी अघि बढेकाले यो यथार्थलाई बुझेर मत दिन उनले आग्रह गरे ।