काँग्रेस श्रृङ्खला :
– कलकत्ताको खाल्सा स्कुलमा यसरी जन्मिएको थियो नेपाली कांग्रेस ! -भाग-१
– ‘राष्ट्रिय’ हटेर यसरी बन्यो ‘नेपाली कांग्रेस’-भाग २
– राजा त्रिभुवन र नेहरु चाहन्नथे बीपी कोइराला प्रधानमन्त्री बनुन्-
भाग-

-हिमालयपोष्ट विशेष संवाददाता


ADVERTISEMENT


राजा त्रिभुवन र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको सहमतिमा विसं २००८ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने । बीपीलाई माइनस गरेर नयाँ सरकार गठन भएपछि कांग्रेस पार्टीमा भित्रभित्रै असन्तुष्टी बढ्दै गयो । उता, भारतीय हस्तक्षेप पनि बढ्दै गयो । मातृका सरकारले नै भारतीय सल्लाहकार मिसन र सैनिक मिसन नेपालमा भित्र्याएको हो, जसमा बीपीको कुनै सहमति थिएन । तर, एकथरी कम्युनिष्टहरु बीपीलाई भारतपरस्त भन्न चुक्दैनन् ।


ADVERTISEMENT

# # #


कम्युनिष्ट पार्टी र प्रजा परिषद्ले आन्दोलन नै ग¥यो । बीपीले पनि यो मामिलामा सरकारको आलोचना गर्दै आए । यसै मेसोमा २२ फागुन २००८ मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतको लोकसभामा बोल्दै ‘भारत हिमालसम्म आफ्नो सुरक्षासीमा सम्झन्छ’ भनेर ठाडै भनिदिए । नेपाल र चीनको सीमामा चिनियाँ सेनाको गोलीबाट नेपाल प्रहरीका एक हवलदार मारिएपछि भारतीय प्रधानमन्त्री नेहरुले यस्तो अभिव्यक्ति दिए पनि त्यसको चर्को आलोचना भयो । विरोध प्रदर्शनहरु हुन थाले ।

कांग्रेसभित्र बीपी पक्षका नेताहरुले ‘विदेशी हस्तक्षेप मुर्दावाद’ भन्दै नारा लगाउन थाले । सरकार पक्ष (मातृका गुट) र पार्टी पक्ष (बीपी गुट)बीच कलह सुरु भयो । अब चाहिँ प्रधानमन्त्री मातृकासँग बीपीको विवाद बढ्दै जान थाल्यो । बीपीले ‘एउटै व्यक्ति प्रधानमन्त्री र कांग्रेस सभापति बन्न नहुने’ भन्न थाले । उनले मातृकाले प्रधानमन्त्री या सभापतिमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग गर्न थाले । मातृका चाहिँ दुबै पद नछाडी बसीरह, अटेर गर्दै ।

यही विवादकै बीच १०–१३ जेठ २००९ मा जनकपुरमा कांग्रेसको पाँचौं महाधिवेशनको आयोजना भयो । महाधिवेशनबाट बीपी कोइराला सभापतिमा निर्वाचित । बीपी सभापति हुनासाथ कांग्रेसले सरकारमाथि लगाम कस्न थाल्यो । सरकार शुद्धिकरणका लागि पार्टीले केही निर्देशन पनि दियो । तर, पार्टीको निर्देशनलाई प्रधानमन्त्री मातृकाले ठाडै अस्वीकार गरिदिए । हुँदाहुँदा काठमाडौंको विशालनगरमा बसेको पार्टीको विशेष महासमिति बैठक पनि मातृका गुटले बहिस्कार गरे ।

अन्ततः बीपी वर्चस्वको कांग्रेस पार्टीले ८ साउन २००९ मा मातृकालाई प्रधानमन्त्री पदबाट राजीनामा दिन निर्देशन नै दियो । प्रधानमन्त्री पदबाट राजीनामा दिनुको साटो मातृकाले १० साउनमा कांग्रेस केन्द्रीय कार्यसमितिबाटै राजीनामा दिए ।

उनीसँगै नारदमुनि थुलुङ, महावीरशमसेर र महेन्द्रविक्रम शाहले पनि कार्यसमितिबाट राजीनामा दिएका थिए । मातृका गुटका नेताहरुले राजीनामा दिएपछि बीपी पक्षका गणेशमान सिंह, सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायले मन्त्री पदबाट राजीनामा दिए ।

कांग्रेस पार्टीले मातृकालाई ४८ घन्टाभित्र प्रधानमन्त्रीबाट राजीनामा नदिए तीन वर्षका लागि नेपाली कांग्रेसको सदस्यबाटै निलम्बन गर्ने चेतावनी दियो । विस्तारै कांग्रेस विभाजनतिर धकेलिन थाल्यो । मातृकाले ४८ घन्टाभित्र राजीनामा दिएनन् । अनि कांग्रेसले उनीसहित नारदमुनि थुलुङ, महावीरशमशेर र महेन्द्रविक्रम शाहलाई पार्टीबाटै निकालिदियो ।

उता, भद्रकाली मिश्रले नयाँ पार्टी ‘जन कांग्रेस’ गठन गरिसकेका थिए । बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माले ‘नेपाली कांग्रेस वामपन्थी’ पनि खडा गरिसकेका थिए । मातृकाले पार्टीबाट कारबाही भोगेको १० महिनापछि १६ वैशाख २०१० मा आफ्नै नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’को स्थापना गरे । यही पार्टीको अध्यक्षको हैसियतले राजा त्रिभुवनले ७ फागुन २०१० मा मातृकालाई दोस्रोपटक प्रधानमन्त्री नियुक्त गरेका थिए ।

सहोदार दाजुभाई अर्थात बीपी–मातृकाको कलहका कारण नेपाली कांग्रेस स्थापनापछि पहिलो पटक विभाजित भयो । पार्टी एकैपटक चार चिरामा टुक्रियो । बीपी आखिर बीपी थिए, जसको नेपाली कांग्रेस आजसम्म अस्तित्वमा छ । तर, मातृका, भद्रकाली मिश्र र बालचन्द्र शर्माको पार्टी भने इतिहासमा कतै बिलायो ।

बीपीको पार्टी अघि बढदै गयो । विसं २०१२ माघ १०–१२ मा वीरगञ्जमा कांग्रेसको छैंठौ महाधिवेशन सम्पन्न भयो । यो महाधिवेशनबाटै कांग्रेसले औपचारिक रुपमा प्रजातान्त्रिक समाजवादको नीति अंगिकार गरेको हो । महाधिवेशनमा सुवर्णशमसेर र गणेशमान सिंहबीच सभापति पदमा प्रतिस्पर्धा भएको थियो ।

सो महाधिवेशनमा सुवर्णशमसेर २३६ मत पाएर सभापति बनेका थिए । गणेशमान सिंहले भने १७२ मत ल्याएका थिए । रोचक त के भने, बीपी कोइरालाले सुवर्णशमसेरलाई समर्थन गरेका थिए । बीपी र गणेशमानबीच कांग्रेसमा सुमधुर सम्बन्ध थियो । बीपीले सुवर्णशमसेरलाई सघाए पनि गणेशमानले अन्यथा लिएनन्, बरु प्रजातान्त्रिक प्रकृयामा परिणाम सहर्ष स्वीकारे ।

सोही अधिवेशनबाट महामन्त्रीमा विश्वबन्धु थापा र डा. तुलसी गिरी निर्वाचित भएका थिए । सोही अधिवेशनबाट पहिलो पटक गिरिजाप्रसाद कोइराला कांग्रेस केन्द्रीय समितिको सदस्य भएका थिए ।

महामन्त्री भएका विश्वबन्धु र डा. गिरीले कालान्तरमा बीपीलाई धोका दिँदै दरबार छिरे । राजाका बफादार अनुयायी भएर निस्किए, तिनै तुलसी गिरी निकट अतितमा ज्ञानेन्द्र शाहको शाही सरकारमा उपाध्यक्ष नै भए ।

बीपी, गणेशमान, किसुनजी र गिरिजाबाबुजस्ता नेताहरु थिए र पो कांग्रेसको गौरव थियो, शान थियो र राजनीतिमा यसले मियोको भूमिका निर्वाह गरेको थियो । यस्ता महान नेताहरुको अभावमा कांग्रेस आज कुहिराको काग सरह भएको छ । अहिलेको पुस्तालाई बीपी, गणेशमान, सुवर्णशमसेर र किसुनजीको उतिबेलाको योगदान सके थाहा छैन होला ।

अर्को अध्यायमा हामी बीपी, सुर्वणशमसेर, गणेशमान र किसुनजीको केमेस्ट्रीबारे चर्चा गर्नेछौं, इतिहासको कसीमा ।

काँग्रेस श्रृङ्खला :
– कलकत्ताको खाल्सा स्कुलमा यसरी जन्मिएको थियो नेपाली कांग्रेस ! -भाग-१
– ‘राष्ट्रिय’ हटेर यसरी बन्यो ‘नेपाली कांग्रेस’-भाग २
– राजा त्रिभुवन र नेहरु चाहन्नथे बीपी कोइराला प्रधानमन्त्री बनुन्-
भाग-

(सम्पादकीय नोट : नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनको अवसरमा हिमालयपोष्टले नेपाली कांग्रेसको इतिहासको श्रृङ्खला सुरु गरेको छ । यो सामग्री हिमालय पोष्टको सम्पत्ति भएकाले अनुमति बिना प्रकाशन/प्रशारण गरिए कानुन बमोजिम कारबाहीको प्रक्रिया थालिने छ ।)