काठमाडौं – राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए ।


ADVERTISEMENT


तरकारी खेतीमा अब्बल धुनीबेँसी नगरपालिका–५ का युद्धप्रसाद न्यौपाने, भैंसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका–६ का दयालक्ष्मी श्रेष्ठ र तरकारी खेती तथा कुुखुरापालनमा राम्रो आम्दानी गर्न सफल नीलकण्ठ नगरपालिका–२ का उर्मिलादेवी कार्की नेपाललाई १०-१० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले पुरस्कृत कृषकलाई नगद पुरस्कार प्रदान गर्दै आगामी दिनमा अब्बलरूपमा कृषिमा लाग्न आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


कृषि ज्ञान केन्द्रले साउनमा पुरस्कार दाबी गर्न कृषकलाई सार्वजनिक सूचना गरेकामा ११ कृषकले पुरस्कार दाबी गरेका थिए । सबै कृषकको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर पुरस्कारका लागि सिफारिस गरेको थियो । रासस