काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी सीता राना मगरले हङकङमा प्रिमियर लिग खेल्ने भएकी छन् । सीता महिला क्रिकेट प्रतियोगिता ‘फेयर ब्रेक इन्भिटेसनल २०२२’ खेल्नका लागि छनोट भएकी हुन् ।


ADVERTISEMENT


शनिबार पत्रकार सम्मेलन गर्दै सीताको लागि एजेन्सीको काम गरेको क्वीन्स इभेन्ट मेनेजमेन्ट प्रा.लि.ले उक्त जानकारी दिएको हो । नेपालबाट उक्त प्रतियोगिताका लागि तीनजनाले फर्म भरे पनि सीता मात्रै छनोट भएकी हुन् । यससँगै सीता विदेशी फ्रेन्चाइज्ड क्रिकेट लिगमा अनुबन्ध हुने पहिलो नेपाली महिला खेलाडी बेनकी छन् । प्रतियोगिताका लागि द्विपक्षीय सम्झौता भए पनि सीताले कुन टिमबाट खेल्ने भने पक्का भइसकेको छैन ।


ADVERTISEMENT

# # #


लिगका लागि छनोट भएपछि प्रतिक्रिया दिँदै सीताले आफ्नो खेल जीवनको १४औँ वर्षमा विदेशी फ्रेन्चाइज्ड लिगमा अनुबन्ध भएर देशको प्रतिनिधित्व गर्ने अवसर पाउँदा खुसी व्यक्त गरिन् । उनले लिगमा आफ्नो सहभागितापछि नेपाली टिमका अन्य खेलाडीका लागि पनि भविष्यमा अवसरको ढोका खुल्ने विश्वास व्यक्त गरिन् ।

सीताले भनिन्, ‘विदेशमा भएर देशलाई अवसर गर्न पाउँदा खुसी छु । मपछि नेपाली खेलाडीका लागि अवसर प्रदान हुने विश्वास गरेको छु ।’

यस्तै युवा तथा खेलकुद मन्त्री महेश्‍वर जंग गहतराजले सीतालाई लिगका लागि छनोट भएकोमा बधाई दिँदै उनको ठूलो संघर्ष र मेहनेतले यहाँसम्म पुगेको बताए । मन्त्री गहतराजले सीताले अन्तर्राष्ट्रिय खेल रंगमञ्चमा उत्कृष्ट प्रदर्शन गरेर भविष्यमा नेपाली टिम र खेलाडीलाई सहयोग पुग्ने अपेक्षा गरे ।

उनले प्रतियोगिताको समयमा सबैको ध्यान सीतातर्फ हुने भएकाले नेपालको माटो सम्झिएर खेल्न आग्रह गरे । यस्तै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सीताको अनुबन्धन नेपाली खेलाडी र खेल क्षेत्रका लागि ठूलो कुरा रहेको बताए । उनले लिगमा धेरै कुरा सिकेर नेपाली खेलाडी र टिमको स्तर वद्धि गर्न र भविष्य राम्रो बनाउन मदत पुग्ने जनाए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता फेयर ब्रेकमा ६ वटा टोलीले सहभागिता जनाउने छन् । प्रतियोगितामा भारतकी प्रख्यात खेलाडी हर्मप्रित कौर, पाकिस्तानकी सना मिरजस्ता खेलाडी अनुबन्ध भइसकेका छन् ।

यसँगै क्वीन्स इभेन्टले सीतालाई एजेन्सीको सेवा पनि प्रदान गर्ने भएको छ । शनिबार सीता र क्वीन्स इभेन्टका तर्फबाट छुम्बी लामाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार क्वीन्स इभेन्टले सीतालाई इन्डोर्समेन्ट (विज्ञापन)को लागि पहल गर्ने, विदेशी लिगमा सहभागिता जनाउनका लागि सहयोग गर्नेछ ।

को हुन् सीता राना मगर ?

दायाँ हाते ब्याटिङ अलराउन्डर सीताले २००७ मा नेपाली महिला टोलीमा डेब्यू गर्दै क्रिकेट करियर सुरु गरेकी थिइन् । उनले सन् २०१४ मा चीनमा भएको एशियन गेम्समा नेपाली महिला क्रिकेट टोलीबाट खेलेकी थिइन् । उनले टी–२० अन्तर्राष्ट्रिय खेलमा भने सन् २०१९ मा चीनविरुद्ध डेब्यू गरेकी थिइन् ।

नेपालका लागि २१ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी सीताले एउटा अर्थशतकसहित ४३९ रन बनाएकी छन् भने २१ विकेट लिएकी छन् । उनले गत नोभेम्बर २२ मा युएईमा भएको आईसीसी टी–२० महिला विश्वकपको एशिया क्षेत्र छनोट प्रतियोगितामा शानदार प्रदर्शन गरेकी थिइन् ।

नेपाल अघिल्लो चरणमा प्रवेश गर्न नसके पनि सीता प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेकी थिइन् । उक्त प्रतियोगिताअघि कतारविरुद्धको टी–२० सिरिजमा सीताले बनाएको ८२ रन नै नेपाली महिला खेलाडीले बनाएको उच्च स्कोर हो ।

सीता आफ्नो टोली अप्ठ्यारो परेका बेला पनि आफ्नो ब्याट र बलको कौशलताले जित दिलाउने क्षमता भएकी खेलाडी हुन् ।