काठमाडौँ – सवारी दुर्घटनामा परी तनहुँमा चार महिनामा १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो ।


ADVERTISEMENT


पृथ्वीराजमार्गका विभिन्न खण्डमा उक्त अवधिमा २७ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा परी ४० जना घाइते भएका थिए ।


ADVERTISEMENT

# # #


सडकको भौगोलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताए ।

पृथ्वीराजमार्ग अन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन् । राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि गत असोज ३ गतेदेखि राडर गनको प्रयोग थालनी गरिएको छ ।

यस अवधिमा प्रहरीले १५ हजार एक सय सवारी साधनलाई कारवाही गरेको छ । कारवाहीबाट रु एक करोड २२ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि चालकसँग एक मिनेट कार्यक्रम अन्तर्गत चार महिनाको अवधिमा दुई सय ७६ पटक कार्यक्रम सञ्चालन गर्दा २३ हजार आठ सय ९७ जना चालक लाभान्वित भएका छन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्लेट वितरण गरिएको छ भने ४३ वटा कक्षा सञ्चालन गर्दा सात हजार ६४० लाभान्वित भएको प्रहरीले जनाएको छ । प्रहरीले सरकारी कार्यालयका सवारी चालकलाई पनि प्रशिक्षण दिन थालेको छ ।