डडेल्धुरा – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले १४ औं महाधिवेशनका लागि १४ एजेण्डा सार्वजनिक गरेका छन् । मंगलबार बिहान गृह जिल्ला डडेल्धुराबाट नेता महरले कांग्रेसको केन्द्रीय सदस्यका लागि आफ्ना १४ एजेण्डा सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


डडेल्धुरामा सोमबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा निर्वाचित भएसँगै महरले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै शिक्षा स्वास्थ्य लगायत पूर्वाधार र राजनैतिक बिचार समेटिएको १४ एजेण्डा सार्वजनिक गरेका हुन्  । आजैबाट महाधिवेशन अभियान थालेको पनि महरले बताए । महरले पार्टीको सांगठनिक सुधारका लागि एक व्यक्ति एक पद दुई पटक मात्रको अवधारणा अगाडि सारेका छन् । पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्क र रूपान्तरणका लागि युवा कांग्रेसको स्थापना आवश्यक रहेको महरले बताए । नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशन मै पेस हुनुपर्ने उनको भनाइ छ । यस्तै निःशुल्क स्वास्थ्य शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार भन्ने महरको मुख्य नारा रहेको छ ।


ADVERTISEMENT

# # #


यस्ता छन् महरका १४ एजेण्डा

१) एक व्यक्ति एक पद दुई पटक मात्र

२) प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशीलता

३) सरकार र पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्कको स्थापना

४) बिपी बिचारको समय सापेक्ष कार्यान्वयन

५) व्यवहार, आचरणमा शुद्धता र आर्थिक पारदर्शिता

६) रूपान्तरणका लागि युवा काँग्रेसको स्थापना

७) नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशन मै

८) लोकतन्त्रको संस्थागत विकास, असल नेतृत्व र कुशल व्यवस्थापन

९) योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनमा आधारित सम्मान

१०) निःशुल्क स्वास्थ्य शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार

११) लगानी मैत्री वातावरण, उद्यमशीलता र स्वरोजगार, अर्थतन्त्रमा सुधार

१२) विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान

१३) कानुनी राज्य मानव अपधकार, सुशासन र सहभागिता

१४) राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति

महर ३० वर्ष लामो नेविसंघको राजनीतिबाट महर उक्त १४ एजेण्डा लिएर काँग्रेसको केन्द्रीय राजनीति प्रवेश गर्न लागेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा निवासी महर विसं २०४७ मा १६ वर्षको उमेरमा असीग्राम माविको नेविसंघ इकाई अध्यक्ष भएका थिए । २१ वर्षको उमेरमा नेविसंघ डडेलधुराको कार्यवाहक जिल्ला अध्यक्ष भए । २०५६ मा जिल्ला अध्यक्ष बने । ०५४ मा पार्टीको डडेलधुरा प्रचार विभाग उपप्रमुखका रूपमा काम गरे ।

महर २०५७ मा नेविसंघको केन्द्रीय सदस्य बने । ०६४ मा उपाध्यक्ष निर्वाचित भए । र, २०७३ सालको ११ औँ महाधिवेशनबाट नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए ।​ ​नेविसंघबाट ०७५ माघमा राजीनामा दिएपछि महर अहिले खासै कार्यकारी भूमिकामा छैनन् । उनी ‘स्कूल अफ डेमोक्रेसी’ को अध्यक्षसमेत हुन् । त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक (एलएलबी) गरेका महरले पार्टीमा बौद्धिक र जुझारु युवा नेताको छवि बनाएका छन् ।