भक्तपुर– मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको हो ।


ADVERTISEMENT


अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको निःशुल्क सेवामा दैनिक ८० भन्दा बढी बिरामी आएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


मुटुका बिरामीका लागि साताव्यापी निःशुल्क मुटु शिविरलाई स्थानीयवासीले अवसरका रूपमा लिएको उनले बताए ।

अस्पतालमा मुटुरोग परीक्षणका लागि अमेरिकाबाट समेत मुटुरोग विशेषज्ञ आएका छन् । सोही अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा सम्पूर्णमान तुलाधर र डा सञ्जय श्रेष्ठले पनि सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख श्रेष्ठले बताए । मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि सुलभ र सहज उपचार सेवा दिन थालिएको छ । टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बनाउन सफल भएको उनको भनाई छ ।

अस्पतालले मिर्गौलाका बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा रोटरी क्लबको सहयोगमा केही दिनपछि थप चार डायलायसिस मेसिनबाट सेवा दिने तयारी छ । रासस