पाँचथर – नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ । जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं  ख को क्षेत्रीय सभापतिमा कांग्रेस नेत्री मैया श्रेष्ठ (लावती) फराकिलो मतान्तरले विजय भएसँगै कांग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पुर्याउन सफल भएको छ ।


ADVERTISEMENT


क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको अन्तरले पराजित गरेर श्रेष्ठ क्षेत्रीय सभापति चुनिएकी हुन्। श्रेष्ठले २७४ मत प्राप्त गर्दा लामाले २०९ मत मात्रै प्राप्त गरे ।


ADVERTISEMENT

# # #


जिल्लाको मिक्लाजुङ गाउँपालिकाकी श्रेष्ठ विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध हुँदै कांग्रेसको क्रियाशील राजनीतिमा प्रवेश गरेकी थिइन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिएका थिए । क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन् ।

श्रेष्ठ नेतृत्वको कार्यसमितिको उपसभापति पदमा तेजबहादुर चेम्जोङ र जितबहादुर भण्डारी विजयी भएका छन् । सचिव पदमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत भएका थिए । यस्तै दुई जना सहसचिवमा ज्योतिप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन् ।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ख मा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ ले मतदान प्रक्रियामा भाग लिएका थिए । प्रदेशसभा क्षेत्र नं क मा भने जिल्ला कार्यसमिति सभापतिका अर्का उम्मेदवार रुपनारायण जबेगु पक्षधर भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ ।