सडकमा ल्याएर खुट्टा ढोगाएर माफी माग्न लगाईने चेतावनी

काठमाडौँ– जनताको आयोग महाअभियान कार्य समितिले शान्तिपूर्ण तवरले आफूहरुले आन्दोलन गरेको अवस्थामा सर्वोच्च अदालत परिसरभित्रै महिला अभियन्ताहरुमाथि वरिष्ठ अधिवक्ताहरुले कुटपिट गरेको र तल्लोस्तरको गाली गरेको भन्दै उक्त घट्नाको निन्दा र घोर आपत्ति जनाएको छ ।


ADVERTISEMENT


आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानले महिला अभियन्ताहरुमाथि हातपात गर्ने फोहोरी शब्द प्रयोग गरेर गाली गर्ने वकिलहरुलाई हदैसम्मको कारबाही गर्नसमेत माग गरेको हो ।


ADVERTISEMENT

# # #


महाअभिानकी संयोजक तारा बरालले अदालत परिसरभित्रै अपशब्द बोल्ने वकिलहरुविरुद्ध आफुहरु कानूनी प्रक्रियामा अगाडि बढेको जानकारी दिईन् । उनले वकिलहरुले आफूहरुमाथि कुटपिट र तथानाम प्रयोग गर्दै गाली गरेको बताईन् ।

साथै, जनतालाई न्याय दिने सर्वोच्च अदालतलाई बन्दी बनाएर कालो कोट लगाउनेहरु भारु र डलरबाट चल्न थालेको समेत उनको आरोप छ । उनले न्याय पाउने थलो सर्वोच्च अदालतलाई प्यारालाईसिस गराएर राखिएको पनि टिप्पणी गरिन् ।

‘तीन/चार दिन अघि गृहमन्त्री, सञ्चारमन्त्री ज्ञानेन्दबहादुर कार्की र शेरबहादुर देउवालगायतका नेताहरुले बारका पदाधिकारीलाई हामी देखिदैनौं तर, जसरी हुन्छ प्रधानन्यायाधीशलाई फालेर छोड भनेर निर्देशन दिएको पाइएको छ’, उनले भनिन् । उनले वकिलहरुले महिला/दिदिबहिनीहरुलाई दिनदाहाडै पिटेको भन्दै उनले यसरी पिट्नेमा अधिवक्ता डा. दिनेश त्रिपाठी, लिलामणि पौडेललगायतको नामसमेत लिएकी थिईन् ।

बार–बेन्च सम्वनय समितिलाई गद्दारहरुको समूहले वकिल र न्यायाधीशहरुको बिचमा पैसाको बार्गेनिङ गर्ने काम गर्ने गरेको पनि बरालको आरोप थियो । उनले महिलाहरुमाथि वकिलहरुले दमन गर्दा प्रहरी प्रशासन मुकदर्शक भएर बसेको गुनासो पोखिन् । त्यस्तै, उनले न्यायाधीश सपना प्रधान मल्लले पृथ्वी मल्लको मुद्दामा अभियुक्तलाई सफाई दिँदा पैसामा डिल गरेको अडियो फेला परेको बताउँदै सार्वजनिक गर्ने चेतावनी दिएकी छन् । पृथ्वी मल्लले चलाएको कारले ठक्कर दिँदा बुढानिलकण्ठमा एक महिलाको घट्नास्थलमै मृत्यु भएको थियो । त्यो हिट एण्ड रन केस थियो ।

यस्तै, वरिष्ठ अधिवक्ता तथा बारका पूर्व अध्यक्ष शम्भु थापाको ल फर्ममा उजुरी पर्दा न्यायाधीश दामोदर शर्माले उजुरी दर्ता, सुनुवाई र फैसला एकै दिनमा गर्दै ल फमको कुनै सामान बरामद नगर्ने र थुनामा नहाल्ने भन्दै फैसला गरेको पनि स्मरण गराएकी छन् । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बाराको प्रधुम्नराज पाण्डे रिट निवेदक भएको र मालपोत कार्यालय विपक्षी भएको मुद्दा बीबीसीका नेत्र केसीको माध्यमबाट ड्राइभरले गाडि भरि पैसा ल्याएको पाइएको र त्यो आफुहरुसँग प्रमाण भएको उल्लेख गर्दै उनले आवश्यक परे सार्वजनिक गरिने बताइन् ।

साथै, उनले न्यायाधीश मिरा खड्काको दुईवटा नागरिता र दुइवटा जन्मदर्ता भएको विषयमा छानविन गर्नुपर्ने माग गरिन् । उनले भनिन्,‘यो विषयमा हामीले संवैधानिक परिषदमा उजुरी हालेका छौं । अविलम्ब छानबिन होस ।’ बरालले सर्वोच्च अदालत नियमित रुपमा सुचारु नभए र न्यायाधीश इजलासमा नफर्किए कार्तिक ३० गतेबाट आफुहरु आमरन अनशनमा बस्नेसमेत चेतावनी दिईन् ।

त्यस्तै, कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले न्यायलयभित्र महिलाहरुको चीरहरण भएको घट्नाप्रति खेद प्रकट गरिन् । उनले यस्तो घट्ना हुदाँपनि महिला आयोग र न्यायालय केही नबोलेको भन्दै दुःख व्यक्ति गरिन् । उनले बार एशोसिएशनलाई विचौलिया एशोसिएशनको संज्ञा दिईन् । उनले भनिन्,‘यो बार एशोशिएशनबाट आम जनतालाई अब केही पनि अपेक्षा छैन् ।’ उनले महिलाहरुले गरिरहेको अभियानमा आफ्नो पूर्ण समर्थन रहेको पनि विश्वास दिलाईन् । र, आगामी दिनमा अझै सशक्त भएर लाग्न पनि उनले आग्रह गरेकी छिन् । साथै, उनले महिलाहरुलाई दुव्र्यवहार गर्नेहरुलाई सडकमा ल्याएर खुट्टा ढोगाउने पनि चेतावनी दिईन् ।

यस्तै, अर्की अभियन्ता गोमा घिमिरेले न्यायालयमा समेत राजनीतिकरण भएको भन्दै दुःख व्यक्त गरिन् । साथै, उनले आफुहरुमाथि न्यायालयभित्र हातपात गर्ने र अपशब्द बोल्ने अधिवक्ताहरुमाथि कडाभन्दा कडा कारबाही गर्न समेत प्रहरी प्रशासनसमक्ष माग गरिन्् । उनले यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने भन्दै त्यसको लागि आफुहरु मर्न र मार्न तयार रहेको चेतावनी दिइन् ।

कार्यक्रममा मेनुका दंगालले आफूहरुमाथि न्यायालयभित्रै हातपात भएको र अपशब्द प्रयोग भएको भन्दै यसको विरुद्धमा कानूनी उपचारमा जाने स्पष्ट पारिन् । उनले भने,‘हामी त जनतालाई न्याय पाउने अधिकारबाट बञ्चित गरिनुहुँदैन भनेर प्रदर्शनमा उत्रिएका थियौं । तर, अदालत परिसरभित्रै हामीमाथि वकिलहरुबाट हातपात भयो । फोहोरी शब्द प्रयोग गरेर गाली गरिएको छ । यो निन्दनीय घट्ना हो । हामी यसको विरुद्धमा पुलिस केश गर्दैछौं ।’ उनले आफूहरुमाथि प्रधानन्यायाधीश जबराको मान्छे भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि स्पष्ट पारिन् । उनले आफूहरुले पैसा खाएको भनेर लगाएको आरोपमा सत्यता नभएको भन्दै आफूहरुको बैंक ब्यालेन्स हेर्नसमेत अनुरोध गरेकी छिन् ।

त्यस्तै, कार्यक्रममा अर्का वक्ता मनिष मानव, लक्ष्मी अधिकारी, वीरेन्द्र डंगोल र महिमा शाहीलगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका महिला दिदिबिहिनीहरुमाथि हातपात गर्नेहरुमाथि कानूनी कारबाही हुनुपर्ने आवाज उठाएका थिए ।