डा. विनय भट्टराई : मधुमेह रोग विशेषज्ञ, ह्याम्स अस्पताल ।

सन् २००६ देखि विश्वमा प्रत्येक वर्षको १४ नोभेम्बरमा ‘वल्र्ड डायबिटिज डे’ (विश्व मधुमेह दिवस) मनाईने गरिन्छ । कुनै न कुनै प्रमुख उद्देश्यसहितको नाराका साथ मनाउने गरिएको यस दिवस यसपटक भने ‘एक्सेस टु डायबिटिज केयर, ईफ नट नाउ ह्वेन?’ अर्थात्, ‘मधुमेह उपचारको पहुँच अहिले नभए कहिले ?’ भन्ने मुल नाराका साथ अन्र्तराष्ट्रिय स्तरमा मनाइँदै छ । यस दिन नेपालमा पनि सम्बन्धित संघसंस्था तथा निकायहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाउने गरिन्छ ।


ADVERTISEMENT


यसै सन्दर्भमा मधुमेह रोग भनेको के हो ? र यसका कारण एवम् बच्ने उपायसम्बन्धि हिमालय पोष्टका लागि मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईसंग गरिएको कुराकानी उनकै शब्दमा :


ADVERTISEMENT

# # #


रगतमा चिनीको मात्रा एकदमै उच्च भएर देखिने रोग नै ‘मधुमेह’ हो । ‘सुगर’ अथवा ‘डायबिटिज’ पनि भनिने यो रोग शरीरमा देखिने विभिन्न दीर्घ रोगमध्ये एक हो । व्यक्तिको सबै अंगमा असर गर्ने यस रोगको समयमै पहिचान गरी रोकथाम नगरेको अवस्थामा यसले व्यक्तिको आँखा, मुटु, मिर्गाैला तथा नशालगायतका सम्पूर्ण अंगहरुमा असर पुर्‍याई व्यक्तिमा मानसिक तनावदेखि पक्षघात तथा यौन दुर्बलताको समस्या निम्त्याउनुका साथै मृत्युको जोखिम समेत बढाउँछ ।

यसका कारणहरु

उसो त, शरीरमा प्यानक्रियाज ग्रन्थीले आवश्यक मात्रामा इन्सुलीन हर्मोन उत्पादन गर्न नसक्दा वा उत्पादन भएको इन्सुलीन शरीरमा उचित रुपमा परिचालित हुन नसक्दा  परिणाम स्वरुप: व्यक्तिमा मधुमेह देखिन्छ ।

यद्यपि वर्तमान समयमा व्यक्तिको खानपिन र जीवनशैलीले पनि यस रोगलाई बढावा दिइरहेको देखिन्छ । जसअन्र्तगत निम्न पक्षहरु पर्दछन्ः

– अन्नको उच्च प्रयोग
– अल्छिपन/शारीरिक निस्क्रियता
– मोटोपन
– र, धुम्रपान एवम् मद्यपानको प्रयोग ।

बच्ने उपाय

यस रोगबाट बच्ने मुख्य उपाय भनेकै यसका कारणहरुबाट जोगिनु हो । यसका लागि व्यक्तिले विशेषगरी यी ३ पक्षमा ध्यान दिनुपर्दछ :

१. उचित मात्रामा अन्नको सेवन

अधिकांश व्यक्तिहरु आफ्नो आहारमा तुलनात्मक रुपमा अन्न अर्थात्, कार्वाेहाइड्रेडको मात्रा उच्च रुपमा प्रयोग गर्छन् । र, यो नै व्यक्तिमा मधुमेहको जोखिम बढाउने विभिन्न कारक तत्वमध्ये एक हो । व्यक्तिले उच्च रुपमा प्रयोग गर्ने तलका यी पाँच आहारलाई मधुमेहको सन्दर्भमा ‘ह्वाईट पोईजन’ को रुपमा नै लिइन्छः
– राईस (चामल)
– मैदा
– नुन
– सोडा
– आलु/पिँडालु ।

तसर्थ यस कुरालाई मध्यनजर गर्दै व्यक्तिले आफ्नो आहारमा माथि उल्लेखित पाँच आहारसहित अन्य अन्नको समेत उचित मात्रामा सेवन गर्दै हरियो तरकारी, सागसब्जी तथा फलफुलको सेवनलाई बढि प्राथमिकता दिएको खण्डमा मात्रै पनि यसको जोखिमलाई कम गराउन सकिन्छ ।

२. सक्रिय जीवनशैली 

वर्तमान समयमा व्यक्तिको जीवनशैली विभिन्न बाहानामा विलासीतातर्फ धकेलिदैँ गएको देखिन्छ । आफुलाई सहज र सरल बनाउने ध्याउन्नमा अर्कातर्फ व्यक्ति स्वयमले नै आफुमा रोगलाई समेत निम्त्याई रहेको देखिन्छ ।

यसका लागि व्यक्तिले आफ्नो शरीरलई चुस्त एवम् सक्रिय राख्नका निम्ति नियमित व्यायाम गर्नुपर्छ । व्यायामले शरीरमा भएको अनावश्यक विकारलाई फाली व्यक्तिलाई स्वस्थ रहन मद्दत गर्दछ ।

३. स्ट्रेस फ्री लाइफ स्टाइल

‘स्ट्रेस फ्री लाइफ स्टाइल’ यानिकी ‘तनावरहित जीवनयापन’ । सुगरबाट बच्नका लागि शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा पनि उत्तिकै फिट रहनु आवश्यक रहन्छ । विभिन्न अध्ययन–अनुसन्धानका अनुसार, तनावले व्यक्तिको इन्सुलिन उत्पादन क्षमतामा हृास ल्याउने भएकाले तनावपूर्ण जीवनयापन गर्ने व्यक्तिमा अन्यको तुलनामा सुगरको जोखिम उच्च रहन्छ । यसकारण पनि हामीले आफुमा यस रोगको जोखिम कम गर्नका निम्ति तनावरहित जीवन यापन गर्ने कोशिस गर्नुपर्छ ।

सहजै अनुशरण गर्न सकिने माथि उल्लेखि तीन पक्षहरु सुगरबाट बच्नका लागि जो–कोहिले अपनाउन सकिने निःशुल्क एवम् अचुक उपाय हुन् ।

मधुमेह रोगसम्बन्धि नेपालमा देखिएको चुनौती

नेपालको सन्दर्भमा भन्ने हो भने, नेपालमा हाल १० लाखभन्दा बढि हाराहारीको संख्यामा मधुमेहका रोगीहरु रहेको देखिन्छ । यद्यपि अझै पनि ५० प्रतिशत बिरामीको पहिचान नै हुन नसकेको अवस्था छ । यस्तै, दूरदराजका मधुमेहका बिरामीहरुमा अझै पनि आफूलाई मधुमेह छ भन्ने कुराको जानकारी छैन, भने कतिपयमा जानकारी भएपनि उपचारको पहुँच पुग्न सकेको छैन ।

यसको प्रमुख कारण भनेको नेपालमा मधुमेह रोगसम्बन्धि आमव्यक्तिमा जनचेतना कमी हुनु हो । यसका लागि सरकारले नेपालका सबै दुर्गम क्षेत्रमा यससम्बन्धि उचित जनचेतनामूलक कार्यक्रमको आयोजना सञ्चालन गर्नुपर्छ ।

अर्कातर्फ यससम्बन्धिको विशेषज्ञको संख्या न्युन हुनु र त्यसमाथि पनि भएका चिकित्सकहरु सुगम क्षेत्रमा मात्रै परिचालित हुनु पनि यस क्षेत्रमा देखिएको अर्काे चुनौती हो । जसकारण परिणामस्वरुपः दुर्गम क्षेत्रका बिरामीहरु अझैपनि उपचारविहिन बन्न पुगेको अवस्था छ ।

उसो त, नेपालमा अन्य रोग विशेषज्ञको तुलनामा हार्माेनसम्बन्धि विशेषज्ञको संख्या न्युन रहेको छ । यद्यपि यस समस्या समाधानका लागि सरकारले भएका मेडिकल अफिसर तथा नर्सहरुलाई उचित तालिम प्रदान गरेर दूरदराजका अस्पतालहरुमा परिचालन गर्नुपर्छ ।

यसो गर्न सकेमा मात्रै पनि अधिकांश बिरामीमा समयमै रोगको पहिचान भई उनीहरुलाई अकालमै हुने मृत्युको रोगबाट बचाउन सकिन्छ ।

प्रस्तुती : सृजना मगर ।