काठमाडौं – भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिंधियाले  नेपाल र भारतका नागरिकलाई सीमित उडान अनुमति दिइएको एयर बबल अवधारणामा आधारित उडानलाई हटाएर दुवै देशको मागका आधारमा उडान खुला गर्नु उचित हुने बताएका छन्  ।


ADVERTISEMENT


नेपालका पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग शुक्रबार नयाँदिल्लीस्थित राजिव गान्धी भवन सफदरगन्ज भवनमा  भारतीय सिभिल एभिएसन मन्त्री सिंधियाले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल र भारतबीच एकवर्ष यता एयर बबल अवधारणामा काठमाडौं र दिल्लीका लागि मात्रै उडान हुँदै आइरहेको र हाल दुवै देशका ध्वजाबहाक वायुसेवाले दैनिक एकरएक वटा उडान गर्दै आएकामा अब सर्वसाधारणको माग अनुसार जुनसुकै स्थानबाट पनि उडान हुँदा सहज हुने सिंधियाको मत छ ।

भारतले ०७६ चैतपछि रोकिएका काठमाडौं–मुम्बई, काठमाडौं–बैंङलोर, काठमाडौं–कोलकत्ता, काठमाडौं–बनारस उडान हालसम्म पनि सुचारु गराएको छैन । दुई मन्त्रीबीच भएको छलफलमा पर्यटनमन्त्री आलेले दिल्ली–काठमाडौं रुटमा नेपाल यात्रुको डिमान्ड अनुसार उडान संख्या बढाउन चाहिरहेको उल्लेख गर्दै एभिएसन मन्त्री सिंधियालाई मुम्बई र बैंङलोर उडान पनि सुचारु गराइदिन आग्रह गरेका थिए । उनले अब कोरोना संक्रमण दर घट्दै गइरहेकाले एयर बबल अवधारणा पनि हटाउन एभिएसन मन्त्री सिंधियासंग आग्रह गरेका थिए ।

पर्यटन मन्त्री आलेलाई एभिएसन मन्त्री सिंधियाले अब केहि महिनामै एयर बबल हटाउन सकिने जवाफ दिएका थिए । त्यसैगरी पर्यटन मन्त्री आलेले नेपाललाई भारत लगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेका थिए ।

काठमाडौंबाट पश्चिमतर्फ उड्ने जहाज महेन्द्रनगरमाथि हुँदै यो रुटबाट दिल्ली, दोहा, इस्तानबुल जान पाउँछन् । तर, यी गन्तव्यबाट यही रुट भई महेन्द्रनगरमाथिको आकाश भएर काठमाडौं छिर्न जहाजले पाउँदैनन् । यसअघि ०७५ असारमा भारतले यो रुटलाई दुईतर्फी बनाउन सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । तर, तीन वर्ष बितिसक्दा पनि यो कार्यान्वयनमा आएको छैन । ‘हामी चाँडै भैरहवा विमानस्थल प्रधानमन्त्रीबाट उद्धघाटन गराउदै छौ, लिमा–६२६ रुटलाई दुईतर्फी बनाउन तपाईको सहयोग चाहियो,’ नेपाली दूतावासका चार्ज–डी अफेयर्स रामप्रसाद सुवेदी र आर्थिक मिनिस्टर निता पोखरेल र नेपाल वायुसेवा निगमका पाइलट उद्धव घिमिरेसहित मन्त्री सिंधियाकै कार्यकक्षमा पुगेका पर्यटनमन्त्री आलेले भने ।

नेपालमा बाल्यकाल बितिएका तथा पारिवारिक साइनो भएका एभिएसन मन्त्री सिंधियाले पर्यटनमन्त्री आलेका कुरा सुनिसकेपछि बुँदागत लिखित पठाउन भनेका छन् । १५ मिनेटको भेटघाटमा उनले आफ्नो नेपालसँग रगतको साइनो भएकाले सघाउने प्रतिबद्धता जनाएका थिए ।