काठमाण्डौं-स्तरोन्नतीको क्रममा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा आजबाट दिनको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।


ADVERTISEMENT


सो सडकखण्डका केही स्थानमा पहरो फोर्ने काम भइरहेकाले विहान ७ देखि अपरान्ह ४ बजेसम्म चरणबद्ध रुपमा यातायात आवागमनमा प्रतिवन्ध लगाइएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए।


ADVERTISEMENT

# # #


आजबाट एक सातासम्म परीक्षणस्वरुप बिहान ७ देखि साढे ८ बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म यातायात सञ्चालन रोकेर भित्तो काट्ने काम गरिने खनालले बताए । कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइने खनालको भनाइ छ ।

अहिलेसम्म साढे १० किलोमिटर क्षेत्रमा कालोपत्र सकिएको छ भने सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ८ सय मिटरमा भित्तो काट्ने काम बाँकी छ ।

यसअघि हिजोपनि सो सडकखण्ड अन्तर्गत सेती दोभानमा रहेको ठूलो चट्टानको ढिस्कोलाई व्यवस्थापन गर्न भन्दै आयोजनाले बिहान १० देखि साँझ ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको थियो ।

विस्तारको क्रममा रहेको मुग्लिन नारायणगढ सडक खण्डमा अहिले सम्म ५९ दशमलव ४ प्रतिशत काम सम्पन्न भएको छ । आगामी चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्नेगरि तीव्र गतिमा काम भईरहेको खनालले बताए ।