काठमाडौं – बाढी पहिरो प्रभावितहरुलाई आर्थिक सहयोगको काम आजैदेखि थालिने सरकारले जनाएको छ ।


ADVERTISEMENT


ज्यान गुमाएकाका परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचार गर्ने निर्णय आजैदेखि कार्यान्वयन हुने गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । उनका अनुसार प्रभावित ठाउँको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आर्थिक सहायताको काम थालिने छ ।


ADVERTISEMENT

# # #


जिल्ला विपद् व्यवस्थापन कोषमा पहिले नै विपद्का बेला खर्च गर्ने भनेर स्थापना गरिएको कोषमार्फत आर्थिक सहायताको काम सुरु गरिने उनले बताए । कोषमा पर्याप्त रकम नभएमा जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल गृह मन्त्रालयसँग रकम माग गर्न सक्ने र गृह मन्त्रालयले तुरुन्त रकम निकासा गर्ने पनि उनले बताए ।

बाढी पहिरो पीडितले राहतको लागि आफ्नो पालिकामा सम्पर्क गर्न सक्नेछन् । सरकारले बाढी पहिरोका कारण ज्यान गुमाएकाका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने तथा घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले एकै घरमा एक जनाको ज्यान गएको भए दुई लाख र त्यो भन्दा धेरैको ज्यान गएको भए सङ्ख्या अनुसार एक लाख रुपैयाँका दरले थप सहयोग गर्ने निर्णय गरेको छ । यस्तै, घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै घर भत्किएकाहरूका लागि तत्काल टहरा बनाउन ५० हजार रुपैयाँ र पछि घर निर्माणका हिमाली भेगमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । साथै जग्गा जमिन नभएकाहरूको हकमा जमिन खरिदका लागि प्रतिपरिवार तीन लाख रूपियाँ उपलब्ध गराउने वा सामूहिक घरको व्यवस्था गर्ने निर्णय पनि भएको छ ।