काठमाडौं – गाउँगाउँमा सहकारीको लोभलाग्दो नारालाई सहकारीका नाममा हुने गरेका गैरकानुनी गतिविधिहरुले विकृत बनाउने गरेका छन् । नामुद ठगी काण्डमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ पक्राउ परेसँगै सहकारीका गतिविधिहरुमा निगरानी र खोजतलास बढेको हो ।


ADVERTISEMENT


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा समेत विभिन्न सहकारीहरुका गलत धन्धाका विषयमा उजुरीहरु परिरहेको बुझिएको छ ।


ADVERTISEMENT

# # #


हिमालय पोष्टको सम्पर्कमा आएका निक्षेपकर्ताहरुले आँफुहरु सहकारीहरुबाट अत्यन्तै दु:ख पाएको भन्दै गुनासो गरेका छन् । ललितपुरको पुल्चोक स्थित सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. का ग्राहकहरुले समेत सहकारीबाट विभिन्न बहानामा धोका भएको भन्दै कानुनी उपचारको बाटो खोज्न सुरु गरेको बताएका छन् ।

सुमेरुका पीडित ग्राहकहरुका अनुसार दशैंको मुखमा आफ्नो जम्मा रकम समेत झिक्न नपाउने अवस्था बनेको छ । उनीहरुका अनुसार सहकारीले ग्रुपमा रहेका आफ्नै विभिन्न संस्थाहरुमा लगानी गर्दा जनताहरु भने जिल्लिन पुगेका हुन् ।

“को–अपरेटिभको पैसा कसरी कसरी र के केमा खर्च भईरहेको छ भन्ने नै पारदर्शी छैन” एक ग्राहकले भने “सोझासाझा जनताबाट उठाएको पैसालाई सुमेरुले एकलौटी आफ्नै व्यापारमा लगाएको छ ।”

बचतकर्ताको पैसा संकलन गर्ने र उनीहरूलाई नै लगानी गर्ने मात्रै सहकारीलाई अधिकार छ । तर सुमेरुले कागज मिलाएर आफ्नो ग्रुपमा लगानी गरेको ग्राहकहरुको आरोप छ । सुमेरु ग्रुपका नाममा अहिले सहकारी, अस्पताल, मेडिकल कलेज, सुमेरु प्रिन्टिङ हाउस, सुमेरु हाउजिङ लगायतका दर्जन संस्थाहरु सञ्चालनमा रहेका छन् ।

श्रोतका अनुसार इच्छाराज तामाङको जस्तै अडिट रिपोर्टमा कागज मिलाएको पाईए पनि सरोकारवाला निकाय र सीआईबीले छानबिन पछि सिभिलको गैरकानूनी लगानी र हर्कतहरू पर्दाफास भएजस्तै सुमेरु लगायत अन्य सहकारीहरुको बारेमा समेत अनुसन्धान अघि बढाउनु पर्नेमा समेत चौतर्फी आवाज उठेको छ ।

स्थानीय रुपमा वित्तीय पहुँच पूर्याउँदै तल्लो तहका सर्वसाधारणहरुको जीवनशैलीलाई सहज बनाउन भूमिका खेल्नुपर्ने महत्वपूर्ण जिम्मेवारीलाई नै गल्त्याएको गम्भीर आरोप लागेपछि यस विषयमा यथार्थ बुझ्न खोज्दा सुमेरुका अध्यक्ष भरत महर्जन सम्पर्कमा आउन सकेनन् ।