काठमाडौँ– दशैँ नजिकिँदै गर्दा सडक विभागले देशभरका सडकमा रहेका खाल्डा टाल्ने कामलाई तीव्रता दिएको छ ।


ADVERTISEMENT


दशैँ नजिकिएको र पानी पर्न रोकिएकाले विभागले दुई दिनयता खाल्डा टाल्न थालेको हो ।


ADVERTISEMENT

# # #


अबको केही दिनभित्रै प्रमुख राजमार्गमा खाल्डा पूरै हटाइने गरी काम भइरहेको विभागले जनाएको छ । खाल्डाको समस्या भएका सडकमा टाल्ने काम सुरु भइसकेको र केही ठाउँमा एक दुई दिनमै काम हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । ‘अहिले मुग्लिन आसपासका क्षेत्रमा खाल्डा देखिए पनि छिट्टै हट्नेछ’, उनले भने ।

साना खाल्डा भएका ठाउँमा सम्बन्धित डिभिजन कार्यालयका कर्मचारीले नै खाल्डा टालिरहेको र बढी समस्या भएका ठाउँमा मात्रै ठेक्कामार्फत गर्नुपर्ने उपमहानिर्देशक अधिकारी बताउँछन् । उनका अनुसार निर्माणाधीन सडकमा समस्या हुँदा त्यसको समाधान निर्माण कम्पनी आफैँले गर्दछन् ।

कालोपत्र सडकमा पानीले असर पु¥याउने हुँदा वर्षाको समयमा सडकमा खाल्डाखाल्डीको समस्या बढी पाइन्छ । वर्षभर अरु महिनामा खाल्डा पर्नासाथ मर्मतको काम भए पनि वर्षा बढी हुने महिनामा त्यो हुन सक्दैन । गत वर्षमा भदौदेखि नै वर्षा कम हुने भएकाले त्यतिबेला नै मर्मत सुरु हुने गरेको थियो । यो वर्ष वर्षा भर्खरै मात्रै रोकिन थालेकाले मर्मतको काम ढिला सुरु भएको उनको भनाई छ ।

उनले भने, ‘यसअघि हामीले अति समस्या भएका केही ठाउँमा मात्रै मर्मत गरिएकोमा अहिले सबै ठाउँमा एकै पटक काम सुरु भएको छ ।’ विभिन्न जिल्लामा रहको डिजिभन सडक कार्यालयको मुख्य काम नै आफ्नो क्षेत्रमा रहेका सडकमर्मत गरेर राम्रो अवस्थामा राख्नु हो । सम्बन्धित डिभिजन कार्यालयले आफूसँग भएको जनशक्ति र उपकरणमार्फत खाल्डाखाल्डी टाल्दै आएका छन् । सडक विभागले सङ्घीय सडक र पुलमा निर्माण र मर्मत गर्दे आएको छ ।

दसैँमा धेरै नागरिक काठमाडौँलगायत सहरी क्षेत्रबाट घर जाने हुँदा सडकमा चाप बढ्ने गर्छ । यो समयमा सडकको अवस्थाका बारेमा सबैले बढी चासो दिने गरेका छन् । सडक विभागले सडकको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिरहेको छ । प्रमुख राष्ट्रिय राजमार्गमा पुग्दा समस्या नपाइएको प्रमुख अधिकारीले जनाए । रासस