काठमाडौँ– सामान्य प्रशासन मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा काजमा खटिएका ४५ उपसचिवको काज फिर्ता गरेको छ ।


ADVERTISEMENT


काजमा खटाइएको एक महिना नबित्दै उक्त मन्त्रालयले ११७ उपसचिवमध्ये ४५ जनाको काज फिर्ता गराएको स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत रवीन्द्रजंग थापाले बताए । “हामीले स्थानीय तहको जिम्मेवारीसहित तोकेर पठाउने तयारीमा थियौँ”, उनले भने, “तर सामान्यले काज फिर्ता गरेपछि पठाउन पाएनौँ ।”


ADVERTISEMENT

# # #


नगरपालिकाका लागि कार्यकारी प्रमुख भनेर पठाउन थालिएका ती कर्मचारीको काज फिर्ता भएपछि ती नगरपालिकामा अहिले निमित्तको भरमा काम भइरहेका छन् ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले ४५ उपसचिवको विशेष परिस्थितिका कारण काज फिर्ता गरिएको बताए । “अशक्त, अपाङ्ग र अवधि नपुगेका कर्मचारीको काज फिर्ता गरेका हौँ”, उनले भने, “फिर्ता गरिएका ठाउँमा नयाँ कर्मचारी पठाउने तयारी भइरहेको छ ।” सामान्यले स्थानीय तह सञ्चालनका लागि अहिलेसम्म ११७ उपसचिव र ८० जना शाखाअधिकृत पठाएको थियो ।