काठमाडौं – चाडवाड नजिकिएसँगै जिल्लामा गैरकानुनी गतिविधि बढेको छ । यसक्रममा सुरक्षाकर्मीले दिनहुँजसो अवैध ओसारपसार भइरहेका सामान र नगदसमेत बरामद गर्दैछ । भारतबाट अवैध रूपमा ल्याएर लुकाइएको ठूलो परिमाणको औषधि सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट बरामद गरेको छ । सूर्योदय नगरपालिका–३, कट्टेबुङबाट सोमबार मध्यराति ४० लाख रुपैयाँभन्दा बढीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।


ADVERTISEMENT


कट्टेबुङको जंगलभित्र एकान्तस्थलमा रहेको घरबाट भारतीय कम्पनीका औषधि बरामद गरेको हो।सशस्त्र प्रहरीका अनुसार यो औषधि कसले र किन ल्याएको भन्ने खुलेको छैन। प्यारालाइसिसले थलिएका दम्पती बस्ने घरमा ल्याएर लुकाइएको औषधि कसको भन्ने ती दम्पती स्वयंलाई पनि थाहा नभएको सशस्त्रले जनाएको छ । बरामद औषधि मंगलबार पशुपतिनगर भन्सारमा बुझाइएको छ ।


ADVERTISEMENT

# # #


असोज १७ गते साँझ प्रहरीले ११ लाख भारतीय नगदसहित फिक्कलका व्यवसायीलाई मेची राजमार्गको हर्कटेबाट पक्राउ गरेको थियो । फिक्कलबाट झापातर्फ जाँदै गरेको मे १ च ६४२४ नम्बरको कारमा सवार सूर्योदय नगरपालिका १० फिक्कलका व्यवसायी ३५ वर्षे अनुप अग्रवालको साथमा रहेको भारु नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

अग्रवाल र कार चालक सूर्योदय नगरपालिका–८ का ५१ वर्षे कर्ण कठायतसमेत पक्राउ गरेको थियो । प्रहरी इन्स्पेक्टर किशोर तामाङका अनुसार ५ सय दरका २ हजार १ सय ३३, २ हजार दरका १४, २ सय दरका २७ र सय रुपैयाँ दरको एउटा नोट उनीहरूबाट बरामद गरिएको छ । ‘पक्राउ व्यक्ति र बरामद नगद इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ,’ उनले भने ।

असोज १८ मा प्रहरीले मेची राजमार्गको सूर्योदय नगरपालिका–११, तीनघरेबाट सखुवाको काठ बरामद गरेको छ। पाँचथरबाट झापातर्फ लैजाँदै गरेको ३०।८९ क्युबिक फिट चिरान काठ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद काठ र चालक पाँचथरको फिदिम नगरपालिका–९ का गाडी चालक ३३ वर्षे केशव ढुंगानालाई माई सबडिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

गत १४ गते राति काठ तस्करी गर्ने क्रममा सशस्त्र वन रक्षक र तस्करबीच कन्काई खोलामा भिडन्त नै भएको थियो। इलाम र झापाको सीमावर्ती गैंडे सामुदायिक वनमा खोलाबाट काठ (फेन्टा) बगाइरहेका तस्करमाथि चुलाचुली वन सब–डिभिजनबाट गएको वनरक्षक टोलीले हवाई फायरसमेत गरेको थियो । त्यसक्रममा सखुवाको २ हजार ६ सय ५ क्युबिक फिट काठ बरामद गरिएको थियो । त्यसैदिन राति साढे २ बजे पुनः माइखोलामै काठ बगाइरहेका तस्करलाई वनरक्षक टोलीले फेला पारेको थियो । र, वनको टोली देखेपछि तस्करहरू भागेका थिए भने २९ क्युबिक फिट काठ बरामद गरिएको थियो ।

प्रहरीले दसैं, तिहार र छठलगायत चाडपर्वलक्षित गरी विशेष सुरक्षा योजना गत ९ गतेयता सञ्चालन गरिरहेको छ । २७ बुँदे सुरक्षा योजना जारी गरिएसँगै अवैध गतिविधिसमेत प्रहरीले नियन्त्रण गर्न थालेको हो । चाडवाडलाई लक्षित गरी मेची राजमार्ग र भारतीय सीमा क्षेत्रमा १५ तथा भित्री सडकमा २६ चेक पोइन्ट व्यवस्था गरिएको छ । दिनहुँ ४१ गस्ती, ३९ क्विक रेस्पोन्ज टिम, १० मोबाइल सवारी गस्ती, ग्रामीण गस्ती र पिकेटिङको योजना बनाइएको इन्स्पेक्टर तामाङले बताएका छन् । यो योजनाअनुसार राजमार्गमा गुड्ने सबैखाले सवारी साधनको कागजात, यान्त्रिक अवस्था, यात्रु संख्या, भाडादर, ओभर लोड, गाडीको गतिलगायतको विशेष निगरानी गरिँदैछ। नागरिक दैनिकबाट ।