डोटी– जिल्ला प्रशासन कार्यालयले दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी नयाँ सुरक्षा योजना लागू गरेको छ ।


ADVERTISEMENT


प्रमुख चाड दशैँ तिहारका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्नका लागि नयाँ योजना लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनी भन्छन्, ‘चाडपर्वमा नागरिकले दुःख नपाउन् भनेर हामीले सुरक्षा योजना बनाएका छौँ, ढुक्कसँग बिना भीडभाड घरैमा पर्व मनाउँदा हुन्छ ।’

उनका अनुसार उक्त सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवतजावतका क्रममा यात्रु ठगिने तथा हैरानी खेप्ने अवस्था आउन नदिन यहाँका विभिन्न ठाउँमा प्रहरी परिचालन गरी चेक गरिने भएको छ ।

यसैगरी यहाँका बसपार्क तथा सार्वजनिक ठाउँमा पनि चौबिसै घण्टा प्रहरी खटिने व्यवस्था मिलाइएको छ भने प्रमुख व्यापारी केन्द्र पिपल्ला तथा राजपुरमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय दिपायलमार्फत सचेतनामूलक सन्देश जारी गरिनाका साथै बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिन अनुमन गरी कारबाही गरिने उक्त सुरक्षा योजनामा समावेस गरिएको छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मेला, महोत्सव, साङ्गीतिक कार्यक्रम तथा बढी भीडभाड नगर्न समेत प्रशासनले सबैमा आग्रह गरेको छ । जिल्लामा जुवा, तास खेल्ने र मदिरा सेवन गर्ने कार्य रोक्नका लागि प्रहरीले निरन्तर अनुगमन गर्ने गरी प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

सुरक्षित एवं भयरहित वातावरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्व मनाउन उनले सबैमा आग्रह गरे । रासस