काठमाण्डौं-घरेलु कामदार आपूर्ति गर्ने म्यानपावरले कुवेतमा थुनेर राखेको घरबाट भाग्न खोज्दा काठमाडौंकी अनिता शाक्यको मृत्यु भएको छ । उनलाई कुवेतको हवालीस्थित एक भवनमा राखिएको थियो । मानव तस्करले भारतीय बाटो हुँदै १६ अक्टोबरमा शाक्यलाई कुवेत पुर्‍याएको थियो । कुवेत पुगेको १४ दिनमै उनी झ्यालबाट हाम्फालेर भाग्न खोजेकी थिइन् । ‘प्रहरीले अनिताको मृत्युलाई आत्महत्या भनेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले भने, ‘शव नेपाल पठाउन दूतावासले एजेन्सीसँग पहल गरिरहेको छ ।’


ADVERTISEMENT


कुवेत जान नेपालले प्रतिबन्ध लगाए पनि तस्करहरूले घुमाउरो बाटो प्रयोग गर्दै आएका छन् । कुवेतको कानुनले घरेलु कामदार आपूर्तिलाई वैध मान्ने भएकाले दूतावासले शाक्यलाई आपूर्ति गर्ने म्यानपावरविरुद्ध कारबाहीको पहल गर्न सकेको छैन । राजदूत हमालका अनुसार झन्डै एक महिनामै चार जना घरेलु कामदार (हाउसमेड) को मृत्यु भइसकेको छ । ‘दूतावासले चाहेर मात्रै कामदारको मृत्यु रोक्न नसकिँदोरहेछ,’ उनले भने, ‘कामदारको बढदो मृत्युदरले हामीलाई चिन्तित बनाएको छ ।’


ADVERTISEMENT

# # #


महिना दिन अवधिमा मृत्यु हुनेमा सुनसरीकी वसन्ती उराव, झापाका अम्बावरी राजवंशी र बहा मर्मुकी छन् । उनीहरूको हृदयाघातले मृत्यु भएको जनाइएको छ । शिवसताषी नगरपालिका, झापाकी २९ वर्षीया बहा मुर्मुको समयमा उपचार नपाएर मृत्यु भएको हो । चार वर्षअघि कुवेत पुगेकी उनी घरबाट भागेर अन्यत्र काम गर्दै आएकी थिइन् । उनी कमजोर अवस्थामा उद्धार निम्ति दूतावास पुगेकी थिइन् । दूतावासले उपचारका लागि फर्वानिया अस्पताल भर्ना गरेको थियो । उनको उपचार र घरफिर्तीका लागि गैरआवासीय नेपाली संघ, कुवेतले सहयोग संकलनसमेत गरेको थियो । उपचार क्रममै मृत्यु भएपछि शव नेपाल पठाउन एनआरएनएले आर्थिक सहयोग गर्ने अभियानकी संयोजक सुस्मिता लिम्बूले बताइन् ।

राजदूत हमालका अनुसार सेल्टरमा २८ जना घरेलु कामदार छन् । उनीहरूलाई स्वेदश पठाउने प्रक्रिया चलिरहेको उनले जानकारी दिए । कुवेतमा झन्डै २३ हजार महिला हाउसमेडका रूपमा कार्यरत छन् । -आजको कान्तिपुरबाट