दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ ।


ADVERTISEMENT


स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् ।


ADVERTISEMENT

# # #


केन्द्रले पहिलोपटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा परिवर्तन बरालले जानकारी दिए । डा. बराल र एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको शल्यक्रिया गर्नुभएको हो । ढाडमा सुई लगाई लठ्याएर शल्यक्रिया गरिएको छ ।

दायाँ साइडको हर्नियाका कारण ती पुरुषको अण्डकोष फुलिएको थियो । पोखरास्थित गण्डकी अस्पतालमा शल्यक्रियाका लागि कात्तिकमा समय लिएका उनले जिपीमा नै शल्यक्रिया गराएका हुन् । ‘हर्नियाको शल्यक्रियाका लागि पोखरा वा अन्यत्र जानुपर्थ्यो, अब सर्वसाधारणलाई सहज हुन्छ’, डा बरालले भने ।

सो अस्पतालले यसअघि भदौ पहिलो साता मलद्वार फाटेका बिरामीको सफल शल्यक्रिया गरेको थियो । अबबाट अस्पतालमा हर्निया र मलद्वार फाटेको शल्यक्रियालाई निरन्तरता दिइने उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जनाए। उपचार केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा. विद्याभूषण ताम्राकारबाट हाडजोर्नीको शल्यक्रिया नियमितरूपमा भइरहेको जनाइएको छ ।

अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा बिहान १० देखि अपराह्न ४ बजेसम्म ओपिडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर शल्यक्रियालगायत सेवा दिइरहेको छ । रासस