डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा राष्ट्रवादीका सहायक महामन्त्री प्रदीप विक्रम राणासंग गरिएको कुराकानी:


ADVERTISEMENT


निर्वाचनको मिति नजिकिँदै जाँदा तपाईहरुलाई चुनावको माहोल कत्तिको लागेको छ ?


ADVERTISEMENT

# # #


चुनावको माहोल अहिले हेर्दा देशमा तातेकै जस्तो देखिन्छ । अहिलेको राजनीति दुई खेमामा विभाजन भएको छ । देशभरी नै लोकतन्त्रवादी र गणतन्त्रवादी भन्ने कुराहरु आइरहेका छन् । उम्मेद्वारको मनोनयन भइसकेको अवस्थामा हामीलाई पनि निर्वाचन लागेकै छ भन्नुपर्छ ।

अहिले तपाईहरुको पार्टी एकिकृत राप्रपा (राष्ट्रवादी) कुन हिसाबले अगाडी बढिरहेको छ ?

हाम्रो एकिकृत राष्ट्रिय प्रजातन्त्र पाटी (राष्ट्रवादी) पार्टी जनतासामू शुन्य भष्टाचार, प्रजातन्त्रसिहतको राजतन्त्र र सनातन हिन्दू राष्ट्रको मूल एजेण्डा बनाएर अगाडी बढिरहेको छ । हिजोको राजतन्त्रलाई पुन: स्थापना गर्नुपर्छ भन्ने मान्यताका साथ जनताको घरदैलोमा हामी गइरहेका छौँ ।

तपाईँहरुको यो राजा फर्काउने एजेण्डा धेरै लामो समयदेखि उठिराखेको छ । निर्वाचनको मुखैमा आउँदा यसको गति कुन रुपमा जनताका सामू गइराखेको छ ?

अब हिन्दू राष्ट्र र राजाको बारेमा हामीले छलफल गरिरका छौँ । भर्खरै विपीवाद बोकेको पार्टी नेपाली कांग्रेस (विपी)का अध्यक्ष हरिबोल गजुरेल र हाम्रो पार्टीबीच चुनावी तालमेल भएको छ । राजसंस्था र हिन्दू राष्ट्रको लागि हाम्रो पार्टी निरन्तर लागिरहेको छ । यसको आवश्यकता किन छ त भन्दा विश्वमा एकमात्र धेरै प्रतिशत हिन्दू भएको राष्ट्र नेपाल, जहाँ पाईलैपिच्छे मठमन्दिरहरु छन् । त्यसैले यसलाई हिन्दू अधिराज्य बनाउनु पर्छ । जस्तो अमेरिकामा क्रिश्चियनको राज्य छ, पाकिस्तानमा इलामिकको छ । विभिन्न देशहरुमा आफ्नो बाहुल्यताका अनुसार विभिन्न धर्म मानिरहको हामी पाउँछौँ । विश्वका हिन्दूहरुको पवित्र ठाउँ जहाँ भगवान पशुपतिनाथ र जानकी मन्दिर जस्ता ठूला धार्मिक स्थल छन् । त्यस कारण नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ । २५० वर्षदेखि चल्दै आएको राजसंस्थालाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता छ ।

पछिल्लो समयमा राजा ज्ञानेन्द्रबाट पनि आवश्यक परेमा वा जनताले चाहेमा आफू नेतृत्व लिन तयार रहेको भन्ने खालको अभिव्यक्ति आएको थियो । त्यसको बारेमा अलिकती बताइदिनुस् न ।

श्री ५ महाराजधिराजबाट जुन किसिमको अभिव्यक्ति आयो, त्यो दशैँको टिकाको दिनमा आएको थियो । त्यो दिन महाराजधिराज सरकारले ‘हिजो जनतालाई श्रीपेच बुझाएँ, जनताको इच्छा बमोजिम जनताको नासो जनतालाई नै दिएँ । देशमा शंकट पर्यो भने, देशमा हिंसा बढ्दै गयो भने देशको नेतृत्व लिनका लागि म आउन तयार छु, जनताको बीचमा म पहिले पनि थिएँ, अहिलेपनि छु र भोलिका दिनमा पनि रहिरहनेछु’ भनेर भन्नुभएको थियो । त्यस्तो अभिव्यक्ति पूर्वराजाबाट आउनु कुनै नौलो कुरा होइन ।

त्यो संगसैगै विभिन्न कार्यक्रमहरु, अभियानहरु सञ्चालन भइराखेका छन् । चुनावको मुखमा यस्ता खालका एजेण्डाहरु लिएर तपाईँहरु समुदायका बीचमा गइराख्नु भएको छ । कस्तो प्रतिक्रिया पाउनुभयो जनताबाट ?

हेर्नुस्, हामीले यी कार्यक्रम लिएर चोकचोकमा, गल्लीगल्लीमा लगायत हरेक ठाउँमा राजावादी कार्यक्रमहरु उठाइरहेका छौँ । किनभने राजा आज देशमा अभिभावकको रुपमा आवश्यक छ भन्ने महशुस हामीले गरेका छौँ । राजा गइसकेपछि ६०१ सांसद बन्नु भयो । आखिर उहाँहरुले के गर्नु भयो त ? काम गर्न नसक्दा त्यो अभिभावकको रुपमा देशमा राजाले काम गर्नुपर्छ भनेर हामी किन गइराखेका छौँ भन्दा जनता र राजा मिलेर गर्ने शासन नै प्रजातन्त्रात्मक राजतन्त्र हुनुपर्छ भनेर हामीले भनेका हौँ । हामीले विभिन्न ठाउँहरुमा कार्यक्रमहरु गरिरहेका छौँ । त्यस्तै राजावादी विभिन्न संघसंस्थाले पनि कार्यक्रम गरिरहेका छन् । राजावादी मुल्य र मान्यता भएका सबैले यस्ता खालका कार्यक्रम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

राजसंस्था र हिन्दू राष्ट्र संगसंगै जोडिएर आइरहेको देखिन्छ । यो एक आपसमा जोडिएको विषय हो कि के हो ?

यहाँलाई मैले अघि पनि भनिसकेँ जस्तो हिन्दू राष्ट्र भएको देशमा हिन्दू सम्राट नै आवश्यक छ । भारतमा एउटा यस्तो ठाउँ छ, जहाँ हाम्रा राजा नगइकन त्यस मन्दिरको साँचो खोलिँदैन । उत्तर प्रदेशको मुख्यमन्दी योगी आदित्यनाथले पनि भन्नु भएको छ कि नेपालमा हिन्दू सम्राट चाहिन्छ । उहाँहरुको पनि चाहाना छ । त्यो चाहानालाई पनि सबैले बुझ्नु पर्यो । हामी कुनैपनि मित्र राष्ट्रको दुस्मन हाइनौँ । हाम्रो राजा पनि फर्किनु पर्छ र हिन्दूराज्य पनि कायम गर्नु पर्छभन्ने उद्देश्यका साथ अगाडी बढिरहेका छौँ ।

बहुसङ्ख्यक जनता हिन्दुवादी छन् । तरपनि मुलूकलाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको छ । राजसंस्थाको विषयमा जनताको धारण कस्तो पाउनुभएको छ ?

देशमा ९३ प्रतिशत जनता ओमकार परिवारभित्र पर्छन् । त्यसमध्ये ८३ प्रतिशत त हिन्दूवादी नै छन् । हिन्दूको त्यत्रो प्रतिनिधित्व भएको बेला ६०१ जना सांसदले देशलाई धर्मनिरपेक्ष र गणतान्त्रिक बनाउने बेलामा जनताको राय बुझ्नुपर्ने थिएन र ? तर उहाँहरुले त्यसलाई लत्याउनु भयो । देशमा त्यत्रो निर्णय लिनेबेला सम्मपनि जनतालाई सोध्नु पर्दैनथ्यो ? जनताको त्यो अधिकारलाई किन बञ्चित गर्नु भयो ? त्यसैको विरुद्धमा उहिले जनता ‘राजा आऊ, देश बचाऊ’ भनेर सडकमा उत्रिरहेका छन् । काठमाडौँमा मात्रै होइन देशका विभिन्न ठाउँमा राजावादी आन्दोलन अब सुरु भइरहेको छ । यो सम्पूर्ण जनताको आवाज हो । यी कतै भाडामा ल्याएका जनता होइनन् । स्वस्फूर्त रुपमा राजा र हिन्दू राज्यको पक्षमा अगाडी बढेका जनता हुन् । यी जनताहरुले आफ्नो माग पूरा गरेरै छाड्छन् ।

अब तपाईँको उम्मेदवारीको विषयमा पनि कुरा गरौँ । आउने निर्वाचनमा तपाईको भूमिका कुन रुपमा हुँदैछ ?

प्रतिनिधि सभाको लागि काठमाडौँ क्षेत्र नं ७ बाट समानुपातिक सूचिमा पार्टीले मलाई राखेको छ । तर मलाई यो निर्वाचनमा हार्नु र जित्नुमा कुनै सम्बन्ध छैन । म राजा र हिन्दू राज्य स्थापना गरेर जनताको हितमा काम होस् भन्ने कुरामा लागि परेको छु । प्रदीप राणा एक्लैको जितले केही पनि हुँदैन । जनताको जित चाहन्छु म । जनताले यी कुराहरु प्राप्त गरे भने प्रदीप राणालाई जितेको महशुस हुन्छ । हिन्दू अधिराज्य नेपाल कायम होस् । प्रजातन्त्रसहितको राजतन्त्र, राजा र जनताबीचमा सहकार्य भएर शासन गर्ने अवस्था आओस् । यही नै ठूलो कुरा हो । भूकम्पपीडित, बाढी पीडितलाई आवास दिने कुरामा सरकारले केही गर्न सकेको छैन । यी कुरामा सरकारले जनताका आवश्यकताको सम्बोधन गर्नुपर्छ ।

राप्रपा एक हुँदा एउटा बलियो राजनीतिक शक्तिमा हेरिएको थियो । छोटो समयमा नै तपाईहरुबीच धेरै परिवर्तन भए । तपाईँहरुले पार्टी विभाजन गरेर नयाँ पार्टीपनि खोल्नु भयो । त्यसको प्रमुख लक्ष्य के हो ?

मैँले अघि नै भनेँ, हाम्रो एजेण्डा भनेको देशमा शुन्य भष्टाचार गर्ने, देशमा शुशासन, प्रजातन्त्रसहितको राजतन्त्र र सनातन हिन्दू राष्ट्र लगायतका विषय हुन् । भष्टाचारको विरोधमा पनि हामीले विभिन्न समयमा कार्यक्रम, धर्ना दिएका छौँ । यो देशमा भष्टाचार शुन्यमा झारेर शुशासन कायम गर्दै हिन्दू राज्य सहितको राजतन्त्र स्थापना गर्न चाहन्छौँ ।

अन्त्यमा, तपाईँका मतदातालाई के भन्नुहुन्छ ?

मतदातालाई म एउटै कुरा अनुरोध गर्न चाहन्छु । हामी प्रजातन्त्रिक राजसंस्थासहितको सनातन हिन्दू राज्य कायम भयो भने नेपालीको जित भएको सम्झिने छौँ । सम्पूर्ण नेपाली जनतालाई एकिकृत राप्रपा राष्ट्रवादीको चार कुनाभित्रको हलोमा मतदान गरी राजा र हिन्दू राष्ट्रप्रति समर्पित व्यक्तिको मानसम्मान बढाइदिनु होला । संसद्मा एराप्रपा राष्ट्रवादीको प्रतिनिधित्व हुने गरी म प्रदीप विक्रम राणलाई मात्रै होइन देशभरबाट मतदान गर्नुहोला भन्न चाहन्छु ।