काठमाडौँ – नेकपा एकीकृत समाजवादीले ७ जना उपाध्यक्षसहितको पदाधिकारी चयन गरेको छ ।


ADVERTISEMENT


बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै पार्टीको महासचिवमा डा. बेदुराम भुसाललाई चयन गरिएको छ भने सचिवमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीलाई चयन गरिएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै वरिष्ठ नेतामा झलनाथ खनाल र नेतामा मुकुन्द न्यौपानेलाई राखिएको छ । बैठकले ३५ सदस्यीय स्थायी कमिटी गठन गरिएको र ७१ सदस्यीय पोलिट्व्युरो गठन गरिएको तथा केन्द्रीय कमिटी सदस्य (पूर्ण र वैकल्पिक गरी) जम्मा ३०१ सदस्यीय गठन गरिएको खतिवडाले बताए ।

त्यस्तै केन्द्रीय सदस्यहरुलाई सम्पूर्ण प्रदेश तथा जिल्लामा इञ्चार्जहरुको जिम्मेवारी प्रदान गरिएको उनले बताए। बैठकबाट ‘तात्कालिक कार्ययोजना– २०७८’ पारित गरिएको खतिवडाले जानकारी दिए। बैठकले समसामयिक प्रस्तावहरु पारित गरेको छ । जसमा कोरोना नियन्त्रण र खोपका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने, चाडवाडका वेला हुनसक्ने कालाबजारीलाई रोक्नुपर्ने लगाएतका छन् । त्यस्तै एमसीसीको अहिलेको अवस्था मुलुकको हित विपरित रहेको भन्दै यसलाई यथास्थीतिमा अघि बढाउन नहुने निष्कर्ष बैठकको रहेको खतिवडाले जानकारी दिए।

त्यसअघि बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद(जबज)लाई आत्मसात् गर्न चाहेको धारणा राखे । उनले एमाले कब्जा गरेर बसेका व्यक्तिहरुले भ्रम र बदनाम गर्ने प्रयास गरिरहेको भन्दै आफुहरु बिचलिन नहुने बताए । उनले जनताको विश्वासलाई घात नगर्ने स्पष्ट पारे । नेपालले मन्त्रिमण्डललाई पूर्णता दिन ढिलाई भएको र छिटै यसले पूर्णता पाउने बताए ।

नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ, जसमा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने गरी जम्मा ७०१ सदस्यीय हुने बताइएको छ । पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने र ती आयोगहरु बढीमा ३५ सदस्यीय गठन गरिने समाजवादीले जनाएको छ ।