काठमाडौं – तरकारीमा बिचौलियाको बिगबिगी बढिरहेको छ ।


ADVERTISEMENT


काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म फलेका छन् । उनले उब्जनी गरेको तरकारीमध्ये एक दिन बिराएर २ सय किलो बढी बोडी तरकारी बिचौलियाका हातमा पर्ने गरेको छ । उनले बारीबाट तरकारी टिपेर बिचौलियाको हातमा त पार्छन् तर आफ्नो तरकारीको मूल्य कति हुन्छ उनलाई नै थाहा हुँदैन ।


ADVERTISEMENT

# # #


उनले उत्पादन गरेको तरकारी बिचौलियाले बजारमा प्रतिकिलो १ सयदेखि १ सय १० रुपैयाँ बिक्री गर्छन् । उनका हातमा भने जम्मा ३०÷४० रुपैयाँ थमाउँछन् ।

किसान सुभाष लुइँटेल भन्छन्, ‘बजारमा जति मूल्य भए पनि किसानले ३० देखि ४० रुपैयाँभन्दा बढी पाउँदैनन् । बजारमा तरकारीको मूल्य जति वृद्धि भए पनि किसानले २५ प्रतिशतभन्दा बढी कसैले पाएको हुँदैन । सबै बिचौलियाले लिने गरेका छन् ।’

त्यसो त किसानहरूले बिचौलियासँग बजारको मूल्य हेरेर कहिलेकाहीँ कुरा पनि गर्छन् । तर, बिचौलियाको ‘रेडिमेड’ जवाफले उनीहरू मर्माहत हुन्छन् । बिचौलियाको रेडिमेड जवाफ हुने गरेको छ, ‘तिमीहरूले उत्पादन गरेको तरकारी तिमीहरू नै राख ।’

त्यसैले किसानहरू बिचौलियाले भनेको मूल्यमा तरकारी दिन बाध्य छन् । तरकारी बिचौलियाको कब्जामा छ । बिचौलियाको हातमा बजार भएकाले न त किसानले लागतअनुसारको मूल्य पाउँछन् न त उपभोक्ताले सस्तो मूल्यमा तरकारी खान पाउँछन् ।

किसान लुइँटेल थप्छन्, ‘आजभोलिकै कुरा गर्ने हो भने व्यापारीले हामीबाट बोडी प्रतिकिलो ४० रुपैयाँमा लिन्छन् । किसानबाट ४० रुपैयाँमा लिएको तरकारी बीचमा भाडा, ज्याला जोडेर उपभोक्ताले कम्तीमा ६० देखि ६५ रुपैयाँमा पाउनुपर्ने हो । तर, उपभोक्ताको चुलोसम्म पुग्दा १ सय ५० रुपैयाँ पुगिसकेको हुन्छ । यो सुन्दा दुःख लाग्छ ।’

अहिले बिचौलियाले किसानको बारीबाट गोलभेंडा प्रतिकिलो १० देखि १५ रुपैयाँमा किन्ने गरेका छन् । तर, उपभोक्ताको चुलोसम्म पुग्दा प्रतिकिलो ६० रुपैयाँसम्म पुग्ने गरेको उनको भनाइ छ ।

साँखु–६ का किसान सुन्दर मल्लको पीडा पनि उस्तै छ । उनले ६ रोपनीमा तरकारी खेती गरेका छन् । अहिले उनका बारीमा गोलभेंडा लटरम्म फलेका छन् । सधैं जस्तो आफ्नो बारीको तरकारी कालिमाटीका व्यापारीको हातमा पर्छन् । तर, मूल्य भने उनले भन्न पाउँदैनन् ।

व्यापारीले जति उनका हातमा दिन्छन् त्यसैमा चित्त बुझाउँछन् । मल्ल भन्छन्, ‘आफैं मूल्य भन्न थाले भने किसानको पछिल्लो दिनदेखि बारीबाट तरकारी नै उठ्दैन । बजारमा जति मूल्य बढेको भए पनि बाध्यताले बिचौलियाले दिएको मूल्यमा नै चित्त बुझाउनुपर्छ ।’

मूलपानी–६ की लक्ष्मी घिमिरेको पीडा पनि किसान सुभाष लुइँटेल र सुन्दर मल्लको भन्दा फरक छैन । बजारमा तरकारीको मूल्य जति बढेको भए पनि उनले आफ्नो उत्पादनको मूल्य भन्न पाउँदिनन् । घिमिरेले मूलपानी वडा नम्बर ६ मा ७ रोपनी जग्गामा तरकारी खेती गरेकी छन् ।

उनको बारीमा काउली, गोलभेंडा, घिरौला, फर्सी, करेला, बोडीलगायतका तरकारी छन् । उनले दैनिक तरकारी बिचौलियाको हातमा करिब ३ सय केजी तरकारी पठाउँछिन् । तर, मूल्य भने भन्न पाउँदिनन् । व्यापारीले नै आफ्नो मनपरी मूल्य भन्छन् र तरकारी गाडीमा राखेर लिन्छ ।

घिमिरे भन्छिन्, ‘कालिमाटी बजारको मूल्य हेरेर आफ्नो तरकारीको मूल्यभन्दा सिधै हामी लिन सक्दैन भन्छन् र हाम्रो तरकारी बालीमै छोडी दिन्छन् ।’

बाध्यताले मूल्य नपाए पनि बिचौलियाले भनेअनुसार तरकारी दिन किसान बाध्य छन् । अहिले बजारमा बोडीको प्रतिकिलो १ सय ३० देखि १ सय ५० रुपैयाँ छ । उनीहरूले ४० रुपैयाँभन्दा बढी पाइँदैनन् । खुद्रा बजारमा काउली प्रतिकिलो १ सय ४० रुपैयाँ छ । तर, किसानले ९० रुपैयाँ पनि पाउँदैनन् । सरकारले किसानका लागि बजारको व्यवस्था गरिदिएको भए बिचौलियाबाट पिल्सिनु नपर्ने कृषक घिमिरेको भनाइ छ । राजधानी दैनिकबाट ।