काठमाण्डौं- मधेस आन्दोलनका बेला हुने प्रदर्शनमा अग्रपंक्तिमा रहेर नारा लगाउँथे अजयकुमार गुप्ता । प्रादेशिक संरचना, सीमांकन, समानुपातिक प्रतिनिधित्व लगायतका विषय उनको माग हुन्थ्यो । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) जिल्ला उपाध्यक्ष रहेका उनी विभिन्न ६ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि त्यसको उपाध्यक्ष पनि बने । मधेसवादी दलमा १० वर्ष खर्चेका उनी २० दिनअघि दल बदलेर राप्रपा (प्रजातान्त्रिक) का जिल्ला उपाध्यक्ष बनेका छन् । ‘मधेसको अधिकारका लागि भनेर १० वर्ष व्यर्थै खर्चिएँ,’ उनले भने, ‘नेतृत्व व्यक्तिवादी बन्यो ।’


ADVERTISEMENT


राजपा केन्द्रीय उपाध्यक्ष रहेका ओमप्रकाश यादव (गुल्जारी) पनि ८ दिनअघि दल बदलेर एमाले प्रवेश गरे । उनी अहिले वाम गठबन्धनबाट रूपन्देही ४ का उम्मेदवार हुन् । राजपा बन्नुअघि उनी सद्भावनाका राष्ट्रिय उपाध्यक्ष थिए । गुल्जारी २०६४ को संविधानसभा निर्वाचन जितेर कृषि राज्यमन्त्रीसमेत बने । ‘अधिकांश समय मधेस आन्दोलनमा खटिएँ,’ उनले भने, ‘सिद्धान्त र विचारबाट मधेसवादी दल विचलित भएपछि छाडे ।’ उनका अनुसार पार्टीले संविधान संशोधनलगायत माग पूरा नभएसम्म स्थानीय निर्वाचनमा भाग नलिने निर्णय गर्‍यो । ‘उक्त निर्णय अनुसार हामीले निर्वाचन बहिष्कार गर्‍यौं,’ उनले भने, ‘तर पार्टीको नीतिविपरीत स्वतन्त्र उम्मेदवार उठाइयो ।’ नीति पालना नगर्दा पार्टीभित्र गुट-उपगुट बनेको उनले बताए ।


ADVERTISEMENT

# # #


रूपन्देहीको मर्चवार क्षेत्रमा पाका नेता तथा राजपाका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले पार्टीले स्थानीय निर्वाचन बहिष्कार निर्णय गर्दा पनि निकटलाई स्वतन्त्र उम्मेदवारी दिन लगाए । यहाँका राजपा कार्यकर्ता शुक्लको त्यही निर्णयले पार्टीमा गुट-उपगुट सिर्जना गरेको आरोप लगाउँछन् । ‘मधेस आन्दोलनदेखि नै मैले मध्यमार्गी बाटो रोजें,’ सोमबार निवासमा भेटिएका शुक्लले भने, ‘अरूले समस्या चर्काउँदा मैले मिलाउने कुरा गरें ।’ विभिन्न सिद्धान्तका ६ दल एक ठाउँमा हुनु नयाँ अभ्यास भएको उनको भनाइ छ । ‘यस्तो अवस्थामा आन्तरिक खिचातानी र गुटबन्दी हुन्छ,’ उनले भने, ‘त्यस्ता खिचातानी र अन्तर्घात गर्नेले पार्टी छाडेको राम्रो हो ।’
उनले यस क्षेत्रमा नेताले दल बदले पनि कार्यकर्ता पार्टीमै रहेको दाबी गरे । ‘पश्चिमका ठूला नेताले पार्टी छाडेपछि शून्यता छाएको छ,’ उनले भने, ‘यसले प्रादेशिक रूपमा नोक्सान भएको छ ।’ पार्टी निर्माणकै चरणमा पश्चिमलाई ढिलो सम्बोधन गरिएका कारण शीर्ष नेताले पार्टी छाडेको उनले बताए । ‘हृदयेशजीलाई ३ महिनापछि अध्यक्ष मण्डलमा लगियो,’ उनले भने, ‘पछि पार्टी केन्द्रित गरेर निर्वाचन क्षेत्र निर्धारण गरियो, त्यसले पनि विभाजन निम्त्यायो ।’ नवलपरासीमा त्रिपाठी र कपिलवस्तुमा बृजेशकुमार गुप्ता पार्टीमा रहेको भए यहाँका मधेस क्षेत्रमा कांग्रेससित प्रतिस्पर्धा हुने थियो । ‘विभाजनले वाम गठबन्धन हावी भयो, पश्चिममा प्रतिनिधिसभामा पार्टीको अवस्था कमजोर छ,’ राजपा नेता शुक्लले भने । उनले प्रदेशसभामा भने आफ्ना उम्मेदवारले टक्कर दिने दाबी गरे ।

कपिलवस्तुमा मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अगुवा यस पटक पार्टी त्यागेर एमालेबाट प्रतिस्पर्धामा छन् । आन्दोलनताका जिल्लामा पूर्वी कमान्ड गुप्ता र पश्चिममा ईश्वरदयाल मिश्रले सम्हालेका थिए । तिनै नेता सूर्य चिह्नमा मत माग्दैछन् । गुप्ता २ र मिश्र ३ नम्बरबाट प्रतिनिधिसभामा होमिएका छन् । ‘एमालेका धेरै कुराले चित्त बुझ्यो,’ गुप्ताले भने, ‘त्यही भएर भावनात्मक रूपमा नजिक भयौं ।’ आफूलाई एमालेभन्दा फरक नपर्ने जनाउँदै उनले भने, ‘राजपाको दोहोरो चरित्र चित्त बुझेन ।’

प्रदेश २ लाई मात्र मधेस मान्ने प्रवृत्ति राजपाका नेतामा हावी हुनु दुस्खद भएको गुप्ताको भनाइ छ । ‘यसले उनीहरूलाई घाटा हुन्छ,’ राजपा उपमहासचिवसमेत रहेका गुप्ताले भने ।’ ०५६ मा राप्रपा, त्यसपछि ०६४ र ०७० मा तमलोपाबाट चुनाव जितेका उनी यस पटक एमालेबाट लडदै छन् । उनको प्रतिस्पर्धा पूर्वराज्यमन्त्री तथा कांग्रेस सभापति सुरेन्द्रराज आचार्यसँग हुनेछ । मिश्रले पनि राजपाको आलोचना गरे । राजपा केन्द्रीय सदस्य रहेका उनले स्थानीय तह चुनाव कतै बहिष्कार गर्ने, कतै भाग लिने नीति नै राजपाको द्वैध चरित्र भएको बताए । ‘प्रदेश २ लाई मात्र मधेस मानेकाले राजपा परित्याग गरें,’ उनले भने, ‘बिनायोजना र रणनीति कहीं सफल भइँदैन, त्यही भएर समयमा बुद्धि पलाएर एमालेलाई समातियो ।’ राजपा कांग्रेसको पुच्छर भएको र उसले जे भन्यो त्यही गर्दै आएको उनले आरोप लगाए । उनी दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।

नेता त्रिपाठीले पनि समग्र मधेस हितका लागि गठन भएको राजपा प्रदेश २ मा केन्द्रित बनेको आरोप लगाए । उक्त पार्टीले प्रदेश १, ५ र ७ मा स्थानीय चुनाव बहिष्कार गर्न लगाएर २ मा सहभागी भएपछि धोका महसुस गरेको उनले बताए । पश्चिमलाई बेवास्ता गरेपछि नारायणी पश्चिम बाँकेसम्मका नेताहरू मिलेर स्वतन्त्र राजनीतिक समूह बनाएको उनले जानकारी दिए । उक्त समूहका सदस्यमध्ये प्रभावशाली मानिएका त्रिपाठी नवलपरासीबाट, गुप्ता कपिलवस्तुबाट र पशुपतिदयाल मिश्र बाँकेबाट एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन । ‘यहाँ जित्ने अवस्था हुँदा पनि चुनवाबाट वञ्चित गराइयो,’ उनले भने, ‘त्यसैले जनाधारवाला साथी मिलेर यस्तो समूह बनायौं ।’ राजपाको दोहोरो चरित्रले ‘छवि’ भएका पश्चिमका नेताको भविष्य संकटमा पार्ने काम गरेको त्रिपाठीको भनाइ छ । त्यसैले नारायणी पश्चिम बाँकेसम्म ४ वटा सिट लिएर बाँकीमा एमालेलाई सघाउने सहमति बनेको उनले जनाए । ‘हाम्रो समूह पार्टीका रूपमा निर्वाचनमा आयोगमा दर्ता छैन,’ उनले भने, ‘त्यसैले एमालेको चुनाव चिह्न लिएका हौं ।’ त्रिपाठी सुस्ता पश्चिम नवलपरासी १ का उम्मेदवार हुन् ।

रूपन्देही, नवलपरासी र कपिलवस्तुमा मधेस आन्दोलन चर्काउने नेतृत्व पंक्तिका धेरैले दल बदलेका छन् । अधिकांश नेता अस्तित्वरक्षाका लागि ठूला दल कांग्रेस र एमालेमा समाहित भए । जसले गर्दा यसअघिका निर्वाचनमा ठूला पार्टीलाई टक्कर दिने राजपामा यस पटक बलिया उम्मेदवारको कमी छ । अधिकांश ठाउँमा ‘सांकेतिक’ जस्तै उम्मेदवारी परेको छ । रूपन्देही ४ मा शुक्लसित अन्य दलका उम्मेदवारको प्रतिस्पर्धा छ । उपस्थिति कमजोर बनेपछि प्रतिनिधिसभाभन्दा प्रदेशसभा उम्मेदवारीमा जोड दिइएको राजपाले जनाएको छ । ‘अधिकांश ठाउँमा प्रदेशसभामा उम्मेदवारी दिएका छौं,’ वरिष्ठ उपाध्यक्ष शुक्लले भने, ‘जिल्लाका उत्तरीभन्दा दक्षिणी क्षेत्रमा कांग्रेससित प्रतिस्पर्धा हुनेछ ।’ उनका अनुसार यसअघि निर्वाचनमा रूपन्देही, कपिलवस्तु, नवलपरासी र बाँकेमा बलियो उपस्थिति थियो । दाङ र बर्दियामा पनि सोचे जस्तो छैन । ‘स्थानीय चुनावमा भाग लिएको भए पहिलो प्रतिस्पर्धी हुन्थ्यौं,’ शुक्लले भने, ‘भाग नलिएपछि संगठन विलिन हुने अवस्था छ ।’ पहिलो र दोस्रो संविधानसभामा कपिलवस्तु, रूपन्देही र नवलपरासीमा मधेसवादी दलले ३-३ सिट जितेका थिए । -आजको कान्तिपुरबाट