बागलुङ – समुदायको अगुवाइ भयो भने लाखौँ रकमको विकास निर्माण सम्भव हुन्छ भन्ने बागलुङ नगरपालिकाका स्थानीय बासिन्दाले देखाएका छन् ।


ADVERTISEMENT


बागलुङ–९ तित्याङस्थित गाउँमा गाउँलेबाट चन्दा तथा श्रमदान जुटाएर रु २० लाखमा बालभैरव मन्दिर निर्माण गरिएको छ । धेरै पुरानो र जीर्ण मन्दिर भएकाले स्थानीयवासीले लाखौँ खर्चेर बनाएको उपभोक्ता समितिका अध्यक्ष रविन खत्रीले बताए ।


ADVERTISEMENT

# # #


रु २० लाख रकममध्ये रु १५ लाख नगद सङ्कलन गरेका स्थानीयवासीले रु पाँच लाख बराबरको श्रमदान गरेका थिए । मन्दिरमा तामाको छानो बिछाइएको छ । आकर्षक कलात्मक बुट्टा भरेका टुँडालहरू बनेका छन् । यसरी बनेका टुँडाल देख्दा काठमाडौंका ऐतिहासिक मन्दिरको झल्को दिन्छ ।

विशेषगरी भर्खर जन्मेका बालबालिकाको बोली नफुटेमा, हातखुट्टा लुलो भएमा तथा अन्य समस्या पर्दा बालभैरवको भाकल गरेर निको हुने स्थानीयवासीको किंवदन्ती छ ।

यो मन्दिरमा हरेक साताको मङ्गलबार मात्रै पूजा हुने गर्छ । मन्दिरको विश्वासका कारण गलकोट र बलेवादेखि पनि कैयौँ मानिस पूजा गर्न पुग्ने गरेका ८० वर्षीय नरबहादुर खत्रीले बताए ।

वडाध्यक्ष गणेश थापाले मन्दिर निर्माण धार्मिक विषय भए पनि गाउँलेहरु जुट्दा लाखौँ रकम सङ्कलन गर्न र विकास गर्न सकिनेरहेछ भनेर यो उदाहरण बनेको बताए । उनले मूर्ति निर्माणमा नगरपालिकालाई सहकार्य गर्न लगाइएको जानकारी दिए । रासस