काठमाडौँ– प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नजाने भएको छ ।


ADVERTISEMENT


संसद् बैठकमा भइरहेको अवरोध हटाउनका लागि सभामुख सापकोटाले सोमबार साढे २ बजे संसदमा सर्वदलीय बैठक बोलाएका थिए । यद्यपि उक्त बैठक बाहिष्कार गर्दै बैठकमा आफुहरु उपस्थित नहुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


एमालेसँग सम्बन्धित छलफलमा अन्यलाई समेत आह्वान गरिएकाले सो बैठक बाहिष्कार गर्ने निर्णय गरेको उनको भनाई छ । ‘एमालेसंग सम्बन्धित छलफलमा अरूलाई किन बोलाउनु पर्‍यो? भन्ने हाम्रो भनाइ हो। असम्बन्धित दलका नेतालाई बोलाएको बैठकमा हामी जाँदैनौ ।’ सभामुखसँग अब दुई वटामात्रै विकल्प भएको बताउँदै उनले भने, ‘कि त हामीले कारबाही सिफारिस गरेका सांसदहरूको लिष्ट टाँस्नुपर्‍यो नभए मार्गप्रशस्त गर्नुपर्‍यो।’

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुख सापकोटाले मान्यता नदिएको विरोधमा एमालेले सभामुखको भूमिकाप्रति असन्तुष्टि राख्दै लगातार संसदमा अवरोध गर्दै आएको छ ।