काठमाडौँ – नेपालले दोस्रो एकदिवसीयमा पपुवा न्यूगिनीलाई २३४ रनको चुनौति दिएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।


ADVERTISEMENT


नेपालका लागि रोहित पौडेललले सर्वाधिक ८६ रन हाने । जसक्रममा नेपालका लागि एकदिवसीय क्रिकेटमा दोस्रो ठूलो र व्यक्तिगत रुपमा अहिलेसम्मकै उच्च स्कोर गरेका उनले १२३ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


ओपिनिङ ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आशिफ शेखले समान ३–३ रन बनाएर आउट भए । सुरुवाती ९ रन बनाउँदा २ विकेट गुमाएपछि दबाबमा आएको नेपालका लागि रोहित पौडेलले कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । ज्ञानेन्द्र व्यक्तिगत ४५ रनमा आउट भए । अर्धशतक बनाउनबाट ५ रनले चुकेका उनले ७० बलमा २ छक्का र ३ चौका प्रहार गरे ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले ४२ रनको योगदान दिए । आक्रमक व्याटिङ गरेका करणले २६ बलमा ४ छक्का र २ चौका ठोके । यस्तै सोमपाल कामीले ११ रन बनाउँदा विनोद भण्डारी ११ रनमा रनआउट भए ।

पपुवा न्यूगिनीका लागि चाद सोपेरले ९ ओभरमा ४५ रन खर्चिँदै ३ विकेट लिए । यस्तै कबुवा मोरिया र नर्मन भानुवाले समान २–२ विकेट लिए भने चार्ल्स अमिनीका नाममा १ विकेट रह्यो ।