काठमाण्डौं- मोरङको सीमावर्ती रानीबाट विराटनगर इटहरी हुँदै धरानसम्मको बनाइने ६ लेनको सडक निर्माणको काम अत्यन्तै सुस्त भएको छ । एसियाली विकास बैंकको १० अर्ब ८९ करोड लगानीमा भइरहेको सो सडक २०७५ सम्म निर्माण गरिसक्ने भनिए पनि काममा देखिएको सुस्तपनले बेलैमा सम्पन्न नहुने अवस्था देखिएको छ । कुल ४९ किलोमिटर दूरीको सो सडक निर्माणका लागि बेग्लाबेग्लै १३ वटा खण्डमा विभाजन गरी निर्माणको जिम्मा दिइएको छ । केही स्थानमा काम सुरु गरिए पनि अधिकांश खण्डमा निर्माण सुरु नै हुन सकेको छैन । काम सुरु गरिएका स्थानमा पनि नियमित निर्माण नहुँदा कोसी राजमार्गको यो सडक खण्ड अव्यवस्थित र जोखिमपूर्ण बनेको छ । खासगरी विराटनगर महानगरपालिका क्षेत्रमा पर्ने सडक खण्डमा खाल्डैखाल्डा भएकाले समस्या देखिएको हो । महानगरपालिका प्रमुख भीम पराजुलीका अनुसार अव्यवस्थित सडकले समस्या बढेपछि सम्बन्धित निर्माण कम्पनीलाई काम नियमित गर्न पटक पटक आग्रह गरिएको छ । यद्यपी कामको गतीमा भने कुनै प्रगती देखिएको छैन् । – आजको कान्तिपुरबाट


ADVERTISEMENT