काठमाडौँ – ‘के तपाई रातको समयमा तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? होसियार ! ट्राफिक प्रहरीको कारबाहीमा परिएला है ।’


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग शुरु गरेको छ । विशेषगरी कोटेश्वर–सुर्यविनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तीव्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तीव्र गति नियन्त्रणको अभियान शुरु गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने, ‘दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तीव्र गतिमा सवारी चलाउने ३५/४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएका छौँ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरी गति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरेका छौँ ।’ तीव्र गतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको उनले जानकारी दिए ।

एसएसपी भट्टराईले आज रातीदेखि नाइट भिजन लेजर स्पीड गनको प्रयोग शुरु गरेको र यसले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ ।

तिब्रगतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तीव्र गति र लापरबाहीका साथ सवारी नचलाउन सम्पूर्ण सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।