काठमाण्डौं-  दोस्रो चरणको चुनावी माहोल तातिएसँगै प्रदेश नम्बर १ को मुख्यमन्त्री को हुने भन्ने चर्चाले पनि विभिन्न दलका नेता कार्यकर्ता र सर्वसाधारणबीच हुने चिया गफमा विशेष चासो र चर्चा हुन थालेको छ । अहिले सबैभन्दा धेरै चर्चामा आएका छन्, एमाले केन्द्रीय सचिव भीमप्रसाद आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई । आचार्य सुनसरी क्षेत्र १ को ख बाट प्रदेशसभा उम्मेदवार हुन् भने राई भोजपुर २ ख बाट उम्मेदवार छन् । मुख्यमन्त्रीका लागि आचार्य र राईले प्रदेशसभामा उम्मेदवारी दिएका बताइएको छ । आचार्य १ नम्बर प्रदेशका संयोजक हुन् भने राई सहसंयोजक ।


ADVERTISEMENT


प्रदेश नम्बर १ मा अरू दलबाट खासै दाबी नभइरहेको अवस्थामा मुख्यमन्त्रीका आकांक्षी आचार्यले भने, ‘प्रदेश र सरकारको समन्वयात्मक नेतृत्व गर्न मैले प्रदेशसभामा उम्मेदवारी दिएको हो ।’ मुख्यमन्त्रीको दाबेदारी अर्का नेता राई पनि देखिएका छन् नि ?’ दलका पूर्वसचेतकसमेत रहेका उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘प्रदेश १ को मुख्यमन्त्रीमा राईसँगको दाबेदारीबारे पार्टीमा मिलाउँछौं ।’ एक नम्बर प्रदेश संगठन कमिटी संयोजक आचार्य सुनसरी १ ख अन्तर्गत पर्ने धरान उपमहानगरको ११, १६, १७, १८ र २०, साविक बराहक्षेत्र, भरौल र बक्लौरीका मतदाताले फेरि जिताए मुख्यमन्त्रीका लागि उनको सम्भावना बढ्ने एमाले नेता कार्यकर्ता बताउँछन् ।


ADVERTISEMENT

# # #


मुख्य मन्त्रीका लागि आचार्यभन्दा एक कदम अगाडि बढेर राईले आफू १ को पहिलो र प्रमुख दाबेदार भएको बताए । उनले भने, ‘चुनावपछि पार्टीले निर्णय गर्नु बेग्लै हो । मुख्यमन्त्री हुने दाबेदारी अरू नेताले पनि पाउँछन् । तर मसँग यसका योग्यता छ ।’ उनले आफू प्रतिनिधिसभा र संविधानसभामा दुईपटक विजयी भएको र प्रदेश १ को जाति, भाषा, संस्कृति, भूगोलको संवेदनशीलताबारे जानकार भएकाले मुख्यमन्त्री दाबी गरेको बताए । सानै उमेरमा राजनीतिक उचाइ लिएका राई भोजपुर २ बाट दुईपटक विजयी भएका थिए । सूचना तथा सञ्चारमन्त्री समेत रहिसकेका राई उक्त पदका दाबेदार हुन् । उनको नाम पनि एमाले वृत्तमा उत्तिकै चर्चामा छ । उनले ०७० को दोस्रो संविधानसभा चुनावमा भोजपुर २ बाट ११ हजार ९ सय २० मत ल्याएर कांग्रेसका बालकृष्ण थापालाई हराएका थिए ।

आचार्यले सोही चुनावमा सुनसरी ६ बाट कांग्रेसका रामबहादुर बस्नेतलाई २६ सय मतअन्तरले पछि पार्दै विजयी भएका थिए । यसअघि माओवादी केन्द्रले प्रदेश नम्बर १ को मुख्यमन्त्री पोलिटब्युरो सदस्य गोपाल किराँतीको नाम अघि सारेको थियो । तर माओवादी केन्द्रको उपस्थिति पूर्वमा कमजोर भएसँगै एमाले माओवादी केन्द्रको चुनावी गठबन्धनले यसलाई अघि ल्याएन ।

अहिलेसम्म कांग्रेसले प्रदेश १ को मुख्यमन्त्रीका दाबेदारको नाम सार्वजनिक गरेको छैन । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका वाणिज्यमन्त्री मीन विकले कांग्रेसमा हालसम्म प्रदेश नम्बर १ को मुख्यमन्त्रीको दाबेदारबारे कुनै छलफल नभएको बताए । उनले भने, ‘हाम्रो पाटीभित्र त्यस्तो दाबीबारे कुनै कुरा भएको छैन ।’

माओवादी केन्द्र पोलिटब्युरो सदस्य मुक्सामहाङ मेन्याङ्बोले मुख्यमन्त्रीको दाबेदार आफ्नो पार्टी नभएको बताए । पार्टीको जनवर्गीय संगठन लिम्बुवान मुक्ति मोर्चा अध्यक्ष भएकाले मुख्यमन्त्रीको दाबी गरे पनि बाम गठनबन्धनले सुनसरीमा आफूलाई सिट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकाले मुख्यमन्त्री एमालेले नै पाउने उनले बताए । -आजको कान्तिपुरबाट