काठमाडौँ– नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)का उम्मेदवारलाई मतदान गरी विजयी बनाउन अपिल गरेका छन् ।


ADVERTISEMENT


जनसमुदायको नाममा आज अपिल जारी गर्दै उनले आगामी मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चालाई सहयोग गरी निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको बताए ।


ADVERTISEMENT

# # #


अपिलमा भनिएको छ, “यो मोर्चा राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय जनगणतन्त्रको स्थापना र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट नै छ, अतः हाम्रो पार्टी देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारलाई मतदान गर्न आम जनसमुदायसित हार्दिक अनुरोध गर्दछ ।”

अध्यक्ष वैद्यले लोकतान्त्रिक र वाम गठबन्धन बनाई सत्ता र पैसाको चरम दुरुपयोग गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्यालाई झनै विकराल र भयावह बनाउँदै लगेकोसमेत आरोप लगाएका छन् ।

न्यूनतम मतसीमा ‘थ्रेसहोल्ड’को व्यवस्था गरिनुले अब यो व्यवस्था बहुदलीय र बहुलवादी नभई दुई दलीय बन्न गएको अपिलमा उल्लेख छ ।

लोकतान्त्रिक तथा वाम गठबन्धनको विरोध तथा भण्डाफोर गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि नयाँ जनवादी क्रान्तिको तयारी गर्न, जनाधार तयार पार्न, भ्रष्टाचारीहरुलाई दण्ड सजाय दिन र जनताको सेवा गर्नका लागि मोर्चाका उम्मेदवारलाई मतदान गर्न सो अपिलमा आग्रह गरिएको छ ।