काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ ।


ADVERTISEMENT


क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुुझाउन लागेको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिएका छन् । पार्टीको गाउँ/नगर वडा अधिवेशनका लागि क्रियाशील सदस्य मतदाता हुन्छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मेवारी दिएको थियो ।

सोही केन्द्रीय समिति बैठकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको भए पनि क्रियाशील सदस्यताको विवाद समयमै समाधान हुन नसक्दा आज मात्रै सभापतिलाई बुझाउन लागिएको हो ।

मुलुकभर र विदेशस्थित जनसम्पर्क समितिका गरी नौ लाख बढी हुने क्रियाशील सदस्यताको विवाद यसअघि समयमै नसुुल्झिँदा महाधिवेशन कार्यतालिकासमेत प्रभावित भएको थियो । साउन ३० गतेको केन्द्रीय समिति बैठकले पारित गरेको कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ । रासस