काठमाडौँ – नवौं परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम) को बैठक बसेको छ । सोमबार काठमाडौँमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको सहअध्यक्षतामा बैठक बसेको हो ।


ADVERTISEMENT


भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा पहलहरुको प्रगति अनुगमन गर्न सन् २०१६ मा उक्त समितिको गठन गरिएको थियो । आज बसेको बैठकले गत वर्ष भाद्र १ मा सम्पन्न भएको आठौं बैठक यता गरिएका द्विपक्षीय सहकार्य परियोजनाहरुको विस्तृत रुपमा समीक्षा गरेको छ । दुवै पक्षले विषयमा गहन छलफल गर्नुका साथै यी परियोजनाहरुको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने कुरामा सहमत भएको भारतीय दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


कोभिड महामारीले निम्त्याएको अनेक अवरोधका बाबजुद पनि पछिल्लो एक वर्षमा विभिन्न विकास परियोजनामा भएका प्रगतिहरुबारे दुवै सह–अध्यक्षले बैठकमा जानकारी गराएका थिए । बैठकमा गोरखा र नुवाकोटमा छिट्टै निर्माण सम्पन्न हुने आवासको पुनर्निर्माण कार्य प्रगति, तराईमा सम्पन्न १३ वटा सडक, भारतको सहुलियतपूर्ण ऋण अन्तर्गत सञ्चालित सडक र प्रसारण लाइन परियोजनाहरु, अरुण–तेस्रो परियोजनाको प्रगति र नेपालगञ्जमा सुरु गरिएको एकीकृत जाँच चौकीको निर्माणबारे चर्चा गरिएको थियो ।

परियोजनासँग सम्बन्धित विविध समस्याको निराकरण गर्न र परियोजना कार्यान्वयनलाई सहयोग पुर्याउन दुवै पक्षले नियमित समन्वयमार्फत ओभरसाइट मेकानिजमका निर्णयहरुमा अनुगमन गर्ने कुरामा सहमत भएका छन् । यस्तै भारतले नेपाललाई उपलब्ध गराएको औषधि, चिकित्सकीय उपकरण, बेड, आईसीयू, भेन्टिलेटर र खोप लगायतका कोभिड–१९ सँग सम्बन्धित सहकार्यको दुवै पक्षले सराहना गरेका छन् ।

दुवै सह-अध्यक्षले ओभरसाइट मेकानिजमको अर्को बैठक दुवै पक्षलाई सहज हुने मितिमा आयोजना गर्न सहमत भएका छन् ।

समितिको बैठकमा विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका निकायहरुका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदार र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।