निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै आयल निगमको आकस्मिक बैठक बोलाइएको छ । नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । यसैक्रममा बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो ।


ADVERTISEMENT


तर, प्रधानमन्त्रीको ठाडो निर्देशनपछि विहीबारदेखि पुरानै मुल्य कायम गरिने आयल निगमका प्रवक्त्ता बिरेन्द्र गोहितले हिमालय पोष्सँग कुरा गर्दै पुरानै मूल्य यथावत् भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि अब पुरानै मूल्य कायम गरिने स्रोतले बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्ति मन्त्री जयन्त चन्द र मुख्यसचिव लोकदर्शन रेग्मीलाई सम्पर्क गरेर चुनावका बेलामा मूल्यवृद्धि नगर्न र तत्काल निर्णय फिर्ता लिन निर्देशन दिएको स्रोतले बतायो । त्यसलगत्तै मुख्यसचिवले आपूर्ति मन्त्रालयलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

मूल्यवृद्धि फिर्ता लिने प्रधानमन्त्रीको निर्देशनप्रति निगमले भने असन्तुष्टि जनाएको छ । अन्तरराष्ट्रिय बजारका आधारमा मूल्य समायोजना गरिँदै आएको हुनाले यसलाई फिर्ता लिने प्रधानमन्त्रीको निर्देशन नाजायज भएको नियमका एक अधिकारीले बताए । मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशनले निगमलाई २२ करोड घाटा हुने निगम स्रोतले बतायो ।