आर. एस. भण्डारी

अध्यक्ष, ह्याम्स अस्पताल

कोभिड महामारीको विषम परिस्थितीमा ह्याम्सले कसरी सेवा प्रवाह गरिरहेको छ ?

कोभिडद्वारा सिर्जित यो विषम परिस्थिती हामी सबैले भोगिरहेको हो । यो महामारीको दोश्रो लहर को समयमा बिरामीहरु बढेकाले बीचको दुई हप्ता जति समय हाम्रा लागि एकदमै कष्टकर र दुःखद रह्यो । हामीले दिनरात अक्सिजन तथा बेडको व्यवस्था गरेर सकेसम्म कोभिडको उपचार गर्‍यौँ । तर, अक्सिजन तथा बेडको कमीको कारण अस्पताल भर्ना गर्नु पर्ने केही गम्भीर बिरामीलाई भने फर्काउनु पर्‍यो । पहिलो लहरमा हामीले जसरी त्यसरी बिरामीको उपचार व्यवस्थापन गरेकोमा दोश्रो लहरमा ह्वात्तै बिरामीको चाप बढेर अस्पताल आएजति सबैका लागि उपचार व्यवस्थापन गर्न सकिएन, त्यसका लागि दुःख लागेको छ । उक्त दुई साता मेरो लागि एकदमै दुःखद् क्षण र मन रोएको अवस्था हो । जसले स्वास्थ्य क्षेत्र बुझेको छ, उसले मात्र यस्तो कुरा देख्दा स्वास्थ्यमा हुने क्षतिको आंकलन गर्न सक्छ । जतिसुकै कठिनाई तथा दुःख भएता पनि हामीले दृढ भएर बिरामीको उपचार गर्न सकेकोमा हामी गर्व महशुस गर्दछौं ।


ADVERTISEMENT

# # #


ह्याम्स अस्पतालले आजका दिनमा एकदमै राम्रो गरेको छ । कोभिडको उपचार सबै भन्दा पहिले निजी क्षेत्रबाट ह्याम्सले नै शुरु गरेको हो । अस्पतालको संरचना तथा दक्ष जनशक्ति यी सबै कुरामा टिमवर्क भित्र हामी सधै सक्रिय रुपमा काम गरिरहेका छौं ।

कुनै पनि काम शुरु गर्न ठूलो कुरा हुँदैन, तर शुरु गरिसकेपछि त्यसलाई उच्च स्तरीय सेवा सहित संचालन गर्नु चुनौतीपूर्ण कुरा हो । जुन ह्याम्स अस्पताल सफलताका साथ गरिरहेको छ । कोभिडको पहिलो र दोश्रो लहरको तथ्यांक हेर्दा हामीले उपचार शुरु गरेर राम्रो गर्‍यौँ भन्ने तथ्यतथ्यांकले नै बताई रहेको छ, हामीले भन्नै पर्दैन । गम्भीर प्रकृतिका कोभिडका बिरामीको उपचार सम्वन्धि अध्ययनमा नेपालमा सरकारी र निजी अस्पतालमा कोभिडको उपचार गर्ने मध्ये निको हुने बिरामीको तथ्यांक ह्याम्सको सबैभन्दा उत्कृष्ट रहेको देखिएको छ सो अध्ययनको तथ्यांक सार्वजनिक हुने क्रममा रहेको छ । शुरु गर्दा चुनौती थियो र पछि त्यसमा राम्रो नतिजा दिन सक्यौँ । त्यो नै यो महामारीमा हामीले दिएको राम्रो सेवा हो ।

महामारी नियन्त्रणमा राज्यको भूमिका कस्तो देख्नु भयो ?

स्वास्थ्य क्षेत्रमा लगानी भईरहेको छ । के गर्‍यो, के गरेन भनेर राज्यलाई मात्र दोष थोपरेर ठूलो हुनु केही छैन । हामीले एउटा अस्पतालको जिम्मा लिँदा त संचालनमा यति धौ-धौ छ भने राज्यले देशभरिको सबै क्षेत्रको जिम्मा लिएर स्वास्थ्य क्षेत्र हेर्नु परेको छ, यो बुझ्न सकिन्छ । समयमै समाधान गर्न सकिने केही कमी कमजोरीहरु नभएका होईनन् तर राज्यले पनि यो महामारीमा राम्रो काम गरेको मलाई लाग्छ । यूरोप, अमेरिकाको क्षमताजस्तो अपेक्षा राख्नु सान्दर्भीक नहुन सक्छ । तर, समग्र रुपमा हाम्रो राज्यले पनि यो महामारीको बेला राम्रो काम गरेको देखिन्छ, जे गरेको छ त्यसमा सन्तुष्ट हुनु पर्ने ठाउँ प्रशस्तै छन् ।

अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रसँग जोडिएका सबैलाई के भन्नु हुन्छ ?

अहिले स्वास्थ्य क्षेत्रसँग जोडिएका सम्पूर्ण प्राविधिक, स्वास्थ्यकर्मी, सर सफाईकर्मी, सुरक्षाकर्मी र अस्पताल व्यवस्थापक आदि सबैले आ–आफ्नो ठाउँबाट यो समयमा देश र नागरिकका लागि एकदमै राम्रो काम गरेको देखिन्छ । सबैले आफ्नो ठाउँबाट यो समयमा इमान्दार भएर काम गर्नुपर्छ, त्यसैले बिरामीसँग शुल्कदेखि सेवासम्मका सबै हिसाबले इमान्दार भएर प्रस्तुत हुन अनुरोध गर्छु ।

तोकिएको शुल्क बाहेक अनावश्यक ठगी नहोस, सेवा सुविधामा कुनै पनि कमी नहोस् भन्छु । जुन अस्पताल आफ्नो भौतिक पूर्वाधार, जनशक्ति, प्रविधिका हिसाबले उपचार गर्न सक्षम छैनन्, ती अस्पतालले ईमान्दारी पूर्वक बिरामीलाई सक्षम जनशक्ति तथा पूर्वाधार भएको अस्पतालमा तत्काल रिफर गरिदिन अनुरोध गर्छु ।

समयमै उपचार हुन सक्यो भने धेरै हदसम्म कोभिडले ज्यानन जादो रहेछ । समयमा अस्पताल पुगेर उपचार शुरु भएमा लगभग त्यो बिरामीबाँच्ने गरेको हामो अभ्यासले देखिएको छ ।

समयमा उचित उपचारको व्यवस्थापन गरिदिनु बिरामीप्रतिको ईमान्दारीता हो । आफू सक्षम छैन भन्न लाज नमानौं, बिरामीप्रति ईमान्दार बनौं, जसले गर्दा बिरामीको समय, नाश नभएर समयमै सहि ठाउँमा पुगोस र समयमा उपचार नपाएर मृत्युसम्म हुने अवस्था नआओस । अहिले नेपालमा संचालित सबै अस्पतालका आफ्ना आफ्ना फरक किसिमका क्षमता छन् । त्यसैले आफ्नो क्षमता भन्दा बाहिरका बिरामी भए त्यो क्षमता अनुसारका अस्पतालमा पठाऔं ।

कोरोनाको बेला बिरामीमाथि चर्को मुल्य असुलेको भन्ने आरोप लागेको थियो । यसलाई कसरी खण्डन गर्नु हुन्छ ?

अस्पतालको लगानी, पूर्वाधार तथा सेवाअनुसार राज्यले अस्पतालको वर्गीकरण गरेको छैन । अस्पतालको वर्गीकरण गर्न आवश्यक छ । आज ह्याम्सले जुन प्रकारको सुविधा दिइरहेको छ, आईसीयूमा बस्ने बिरामीले विश्वस्तरीय सेवा, सुविधा हाम्रोमा पाउछन्, त्यस अनुसारको वर्गीकरण भएको छैन । सेवाको स्तर नहेरेर अन्य सस्तो अस्पतालसँग तुलना गरेर ह्याम्स महंगो भयो भनेर आलोचना गर्नु जायज छैन । यसमा नागरिकको पनि खासै गल्ती छैन ।

एउटा बिरामीलाई आईसीयूमा कति डाक्टरले हेर्छन, कस्तो प्रविधि र पूर्वाधारमा उपचार भईरहेको छ, कति नर्सले हेरिरहेका छन लगायतका धेरै हिसाबले फरक पर्छ । कुनै उत्कृष्ट कफिशपमा गएर जसरी हामी बढी मूल्य तिर्छौ, त्यस अनुसार बिरामीलाई स्वास्थ्यमा पनि छनौटको मौका हुनु पर्छ ।

जसले अन्तराष्ट्रिय स्तरको सेवाको चाहना राख्छ र सोही अनुरुपको शुल्क तिर्न तयार हुन्छ, उसले विदेशी अस्पतालमा जस्तो पूर्वाधार, प्रविधि एवं जनशक्ति अनुसारको सेवा पाउनु पर्छ । भारत, यूरोप, अमेरिका र्नै जानुपर्ने हो त्यसका लागि ?

नेपालमै पनि त त्यस्तो सुविधा सम्पन्न अस्पताल सेवा हुनु पर्छ नि ! तर यो भन्दै गर्दा ह्याम्स अस्पताल महंगो भनेर जुन हिसाबले बजारमा हल्ला फिजाईएको छ, त्यो किमार्थ सत्य होईन, यसको म खण्डन गर्छु । यो हामीविरुद्ध रचेको प्रोपोगाण्डा मात्रै हो । हामी अहिले जुन किसिमको सेवा दिईरहेका छौँ । त्यो अन्य हाम्रै स्तरको सेवा दिईरहेका अन्य अस्पतालको भन्दा २५-३० प्रतिशत सस्तो हो । स्याउसँग स्याउको तुलनागर्ने हो भने हामीसँग भएको पूर्वाधार, प्रविधि र जनशक्तिको हिसावले नेपालमा भएका अन्य अस्पताल भन्दा सस्तो छौं ।

न्यूनतम खर्चमा अधिकतम बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु ह्याम्स अस्पतालको उदेश्य तथा लक्ष्य हो । हामीले सोही अनुरुप काम गरिरहेका छौं । अहिले कुन अस्पतालमा कस्तो खर्च छ भन्ने बिल त भेटिहाल्छ नी, यो लुकाएर लुक्ने चिज पनि होइन ।

अस्पतालका आगामी योजना के के छन् ? कुन रणनीतिका साथ अघि बढदै हुनु हुन्छ ?

अवरोध धेरै छन् तर यो देशमा तपाई हामीले नगरे कसले गर्छ ? स्वास्थ्य क्षेत्रमा लागे पछि यो बीचमा मैले नेपालको स्वास्थ्य क्षेत्रलाई राम्रोसँग बुझेको छु र यहाँभित्र भएको कमीकमजोरीलाई सुधारेर लाने योजना मेरो छ । सबैको पहुँचमा काठमाडौं बाहिर पनि सबै ठाउँमा कसरी राम्रो सुविधा सम्पन्न स्वास्थ्य सेवादिन सकिन्छ भन्नेमा मैले अवको योजना केन्द्रित गरेको छु । देशको अवस्था कस्तो छ भने म असाध्यै दुःखीभएको एउटा घटना तपाइलाई सुनाउछु । राती ८-९ बजे नेपालगंजको एउटा गाउँमा ग्याङ फाईट भयो । ३२ वर्षीय एक यूवकको तिघ्रामा खुकुरीले ५/७ ठाउँमा आक्रमण गरियो । खुकुरीले तिघ्रामा हानेर हतपत्ती मान्छे मर्दैैन, आक्रमणले नसा काटियो र रगतबग्यो । त्यसपछि त्यो बिरामीलाई नेपालगंजका सरकारी देखि निजीसम्म विभिन्न अस्पतालमा पुर्‍याइयो । केही सीप नचलेपछि हेटिकोप्टरबाट यहाँ ल्याइयो, यहाँ ल्याएको ५–१० मिनेटमै उनको मृत्यृ भयो । त्यसको सामान्य एउटा रगत संचारको नसामा एउटा स्टिचिङ मात्रै गरिदिएको भए उनि बाँच्ने थिए ।

यस्तो छ देशको स्वास्थ्य अवस्था । भनेको हामीसँग नेपालमा दक्ष जनशक्तिको कमी छ । मेडिकल सेवामा पढेर मात्रै गुणस्तरीय सेवा दिन्छ भन्ने देखिन्न नेपालमा । त्यसैले मेरो भनाई चाँहि दक्ष, अनुभवी जनशक्ति होस भन्ने हो । भर्खरै हामीले ३ महिनाको आईसियूका लागि ३० जनादक्ष नर्सलाई तालीम प्रदान गरेको छौं । अव ४० जनालाई तालीम दिँदैछौँ । इमर्जेन्सीका लागि पनि तालीमको तयारी गरेको छौं । अर्थात आजको दिनमा सबैभन्दा ठूलो कुरा सामान्य व्यवस्थापन नै नेपालमा गाह्रो छ । सडक दुर्घटना भयो भने अवस्था बिग्रिन नदिन प्राथमिक व्यवस्थापन गर्ने जनशक्ति पनि हामीसँग छैन । त्यो जनशक्ति उत्पादनमा हामी लागि परेका छौं । छोटो समयमा हामीले राम्रो काम गर्‍यौँ, त्यस अनुसारका पृष्ठपोषणले गर्दा हामीले हाम्रो आगामी योजना दक्ष जनशक्ति सहित देशभर उष्कृष्ट सेवा दिने गरी हामीले तयारी गरिरहेका छौं । शुरुमा हामी क्षमता बढाएर काठमाडौंमा, त्यसपछि काठमाडौं बाहिर सेवा विस्तार गर्ने तयारी गरिरहेका छौं ।

प्रतिकृया

प्रतिकृया