काठमाडौं– उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा आजदेखि ‘तपाईको मास्क खै?’ लेखिएको रिबन को प्रयोग गरी सचेतना शुरु गरेको छ ।


ADVERTISEMENT


ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले उक्त रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT

# # #


उपत्यकाको ४४ ट्राफिक कार्यालयका ९०० जना ट्राफिक प्रहरीहरुलाई आजैबाट ड्युटीको समयमा अनिवार्य उक्त रिबन प्रयोगमा ल्याउन शुरु गरेको महाशाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने बताए ।

यस्तै, यसअघि ‘तपाईको मास्क खै?’ अभियानका लागि प्लेकार्ड प्रयोग गरिएकोमा त्यसले ड्युटिमा खटेका ट्राफिक प्रहरीलाई असुविधा पुगेको भन्दै प्लेकार्डको विकल्पको रुपमा उक्त रिबन प्रयोगमा ल्याएको ललितपुर प्रहरी निरीक्षक नरेश शाहिले  जानकारी दिए ।

‘नो हर्न’ अभियान पनि आजैबाट शुरु

ट्राफिक प्रहरी महाशाखाले आजैदेखि उपत्यकामा ‘नो हर्न’ को अभियान समेत शुरु गरेको छ ।

प्रहरी निरीक्षक शाहिका अनुसार, प्रहरीले हर्न निषेधलाई थप कडाइ गर्दै ‘नो हर्न स्टिकर अभियान’ आजबाट नै शुरु गरेको हो ।

वि.सं २०७४ देखि नै ‘नो हर्न’ अभियान ल्याइए पनि पछिल्लो समय चालकहरुको बेवास्ताका कारण अनावश्यक हर्नको प्रयोगमा क्रमश वृद्धि भएकोले यसलाई पुनः व्यवस्थित बनाउन उपत्यकामा आज एकैसाथ ‘नो हर्न’ स्टिकर अभियान शुरु गरिएको प्रहरी निरीक्षक शाहिले बताए ।

‘यी दुवै अभियान हामीले  चालकसहित सम्पुर्ण नागरिकलाई आत्म अनुशासित बनाउनका लागि सञ्चालन गरेका हौँ ’, उनले भने ।

यस कार्यक्रमअन्र्तगत ट्राफिक प्रहरीले आज मात्रै झण्डै दुई/तीन सय सवारीको अघिल्लो सिसामा ‘नो हर्न’ अंकित स्टिकर टाँसेको छ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने महाशाखाको भनाई छ ।

महाशाखाले यसअघि पनि अनिवार्य मास्कको प्रयोग गर्न/गराउन ट्राफिक प्रहरीद्वारा प्ले कार्ड प्रदर्शन, सार्वजनिक स्थानमा मास्क वितरण, सार्वजनिक यातायातमा अनिबार्य मास्कको प्रयोग गर्न सचेतना जगाउने, सामाजिक दुरी कायम गर्न र सिट क्षमता भन्दा बढि यात्रु नचढाउन सचेत गर्ने लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो ।