काठमाडौँ – सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज (सार्क सीसीआई) र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


बिहीबार सार्क सीसीआईका उपाध्यक्ष चण्डीराज ढकालको नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेको हो । भेटमा उपाध्यक्ष ढकालले कोरोना भाइरसका बीच सार्क सीसीआईले गरिरहेको कामहरुबारे प्रधानमन्त्री देउवालाई जानकारी गराए ।


ADVERTISEMENT

# # #


लामो समयदेखि सार्कको मन्त्रीस्तरीय बैठक बस्न नसकेकाले सार्कको च्याप्टर अनुसार गठन भएको सार्क सीसीआईका कतिपय स्थापित र योजना बनाएका कार्यक्रमहरु हुन नसकेको बताए । अहिले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले आउने मन्त्रीस्तरीय बैठकमा यसलाई महत्वका साथ अघि बढाउन प्रधानमन्त्र शेरबहादुर देउवासमक्ष उनले आग्रह गरे ।

उपाध्यक्ष ढकालले निजी क्षेत्रका गतिविधिलाई राजनीतिक दृष्टिकोणबाट हेर्न नहुने बताए । ‘सार्क संसारकै ४० वर्षमुनिका ४० प्रतिशत युवा जनशक्ति भएको क्षेत्र हो । यो अवसरलाई आत्मसाथ गर्दै त्यसको सदुपयोग गर्नुपर्छ ।’ उनले भने, ‘देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्छ । जसको आधारबाट सामाजिक क्षेत्रलाई रुपान्तरण गर्न सकिन्छ ।’

उनले साना तथा मझौला उद्योगबाट उत्पादित देशको पहिचान गर्ने वस्तुहरुलाई प्रदर्शनीमा सहभागी गराउन सार्क सीसीआईले सहयोग गर्ने भनेर समझदारी गरेकाले यसको वैधानिकताको कुराहरु नेपालले अघि बढाउनु पर्ने उल्लेख गरे । सार्क राष्ट्रहरुबीचको सम्भावनाहरुलाई अवसरमा बदल्न र व्यवसाय विस्तार गर्न सार्क सीसीआईले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उपाध्यक्ष ढकालले बताए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्ला दिनमा सार्क सीसीआईले धेरै राम्रो काम गरेको, यसका पूर्वाधार स्थापित भइसकेको र थुप्रै सम्भावनाहरु बोकेकाले सरकारले सार्कका गतिविधिलाई सक्रिय बनाउन ध्यान दिनुपर्ने बताए ।

जवाफमा प्रधानमन्त्री देउवाले आफू सार्क सीसीआईप्रति सकारात्मक रहेको बताए । उनले परराष्ट्रमन्त्री नियुक्त भएर मन्त्रीपरिषद्ले पूर्णता पाएपछि यसलाई विस्तृत रुपमा अघि सार्ने बताए । प्रधानमन्त्री देउवाले प्रतिनिधिमण्डलसँग भने, ‘तपाईंहरुले ल्याएका एजेण्डालाई सरकारले सकारात्मक रुपमा अघि बढाउने छ ।’

सार्क सीसीआईका उपाध्यक्ष ढकालले कोरोनाले अस्तव्यस्त बनेको देशको अर्थतन्त्रलाई माथि उकास्न उद्योग व्यापारको लागि समष्टिगत रुपमा चाहिने वातावरण बनाउन राज्यले भूमिका खेल्नु पर्ने र निजी क्षेत्र सहकार्यको लागि तयार रहेको बताएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले यसलाई विस्तृतमा छलफल गरेर अघि बढ्ने आश्वासन दिए ।

भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, केन्द्रीय सदस्य देशबन्धु बस्नेत, हेमराज ढकाललगायत प्रतिनिधिमण्डलको उपस्थिति रहेको थियो ।