काठमाण्डौं: झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने झापा भद्रपुर नगरपालिका-९ का ३५ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् ।
मंगलबार साँझ भद्रपुर-१० स्थित सत्तार बस्तीमा पसेको हात्ती लखेट्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जंगली हात्तीलाई लखेट्ने क्रममा उनलाई हात्तीले पछारेर छाती र घाटीमा किचेको स्थानीयले बताएका छन्। जंगली हात्तीको आक्रमणबाट घाइते भएका कटुवाललाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चारआली जंगलबाट ५ वटा संख्यामा निस्किएको जंगली हात्तीले भद्रपुर-९ का गोपाल घिमिरेको घरमा धान खाएको थियो । गाँउ पसेको हात्तीलाई गाउले मिलेर लखेटेका थिए । सोही क्रममा कटुवाललाई हात्तीले आक्रमण गरेको थियो । उनले मादक पदार्थ सेवन गरेकोले भाग्न नसक्दा हात्तीले आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । महिना दिन यता सो क्षेत्रमा जंगली हात्तीले उपद्रो मचाउदै आएको छ । हात्तीले त्यहाँका स्थानीयले लगाएको अन्नबालीमा क्षती पुर्‍याउनुका साथै घर समेत भत्काउँदै आएको छ । – आजको अन्नपूर्णबाट


ADVERTISEMENT