काठमाडौँ– अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार र कार्यालय सञ्चालनका लागि रु सात अर्ब ४४ करोड आज निकासा गरेको छ ।


ADVERTISEMENT


पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक/एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई दिए । अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकालाई संस्थागत विकास गर्नका लागि अर्थ मन्त्रालयले निकासा गरेको हो ।


ADVERTISEMENT

# # #


महानगरपालिका सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा अधिकृत तहको कर्मचारी काजमा पठाएर साङ्गठानिक पुनःसंरचना पनि आजै गरिएको छ । तहगत र आर्थिक रुपमा पुनःसंरचना सुरु भएको उल्लेख गर्दै उनले वित्तीय संरचनालाई पनि चाँडै अर्थ मन्त्रालयले अन्तिम रुप दिने तयारी गरेको बताए । आगामी आवको बजेटमा त्यसलाई अझ स्पष्ट गरिने जनाइएको छ ।

महानगरपालिकादेखि गाउँपालिकासम्म प्रारम्भिक पुँजीका रुपमा मात्र बराबर रकम दिइएको अर्थमन्त्री महराले  बताए । निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले ठूलो रकम माग गरेकाले त्यसलाई पनि बिस्तारै पूरा गर्दै जाने बताउँदै अर्थमन्त्रीले एकै पटक ठूलो रकम जुटाउन सक्ने अवस्था नभए पनि निर्वाचनजस्तो महत्वपूर्ण कार्यका लागि रकम अभाव नहुने स्पष्ट गरे ।