काठमाण्डौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा भवन पुनर्निर्माणका लागि सहुलित दरमा काठ उपलव्ध गराउन सरोकारवाला निकायलाई निर्देशन दिएको छ । प्राधिकरणले भूकम्पबाट प्रभावित सार्वजनिक तथा निजी आवासको पुनर्निर्माणका लागि काठको उपलव्धता कम भएको भन्दै उत्पादन वृद्धिका लागि सामुदायिक वन कार्य योजनाको म्याद ३ बर्ष थप गर्न वन तथा भू–संरक्षण मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।
यस्तै पुनर्निर्माणका लागि अधिकांश क्षेत्रबाट चिरान गरेको काठ नै माग भैरहेकोले आधुनिक चिरान मेशिनको व्यवस्था गर्न टिम्बर कर्पोरेशन नेपाललाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । भूकम्प पीडितको आवास तथा सार्वजनिक पूर्वाधारहरु निर्माणका लागि आवश्यक काठ ढुवानीका लागि आवश्यक परेमा स्थानीय तहमा कोष स्थापना गरी सहयोग पुर्याउन आवश्यक तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई समेत प्राधिकरणले आग्रह गरेको छ । यस्तै भूकम्प पीडितका आवास शिघ्र निर्माण गर्नका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्लागत काठ आपूर्ति समितिलाई अझ सक्रिय बनाउन गृह मन्त्रालयलाई पत्राचार समेत गरेको प्राधिकरणले जनाएको छ । – आजको कान्तिपुरबाट