काठमाडौँ– भूकम्प, सुनामी, आँधीबेहरी, खडेरी, बाढीपहिरो, हिमपात, हिमपहिरो, मनसुनी वर्षालगायत विपत्तिको उच्च जोखिममा एशिया–प्रशान्त क्षेत्र रहेको पाइएको छ ।


ADVERTISEMENT


आज पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को उपक्षेत्रीय प्रतिवेदनले प्राकृतिक एवं मानवनिर्मित विपत्तिको उच्च जोखिममा एसिया–प्रशान्त क्षेत्रका २६ शहर रहेको चेतावनी दिएको छ ।


ADVERTISEMENT

# # #


इस्क्यापको विपत्ति न्यूनीकरण विभागका प्रमुख सञ्जय श्रीवास्तवले प्रतिवेदनका मुख्य बुँदा प्रस्तुत गर्दै काठमाडौँ, नयाँदिल्ली, ढाका र कराँची विपत्तिको उच्च जोखिममा रहेको बताए। प्राकृतिक तथा मानव सिर्जित विपत्तिले दिगो विकासका लक्ष्य हासिल गर्न कठिनाइ हुने वास्तविकता औँल्याउँदै उनले विश्वका अतिनिर्धन र अधिक जनसंख्या भएको एशिया–प्रशान्त क्षेत्रमा नै जोखिमको भय उच्च हुनु चिन्ताको विषय भएको बताए ।

प्राकृतिक विपत्तिका कारण विगत ४६ वर्षमा एशिया प्रशान्त क्षेत्रमा २० लाख मानिसले ज्यान गुमाएको र एक खर्ब तीन अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको तथ्यांक प्रस्तुत गर्दै प्रतिवेदनमा विपद् व्यवस्थापनको पूर्वतयारी, राष्ट्रराष्ट्रबीच सूचना आदानप्रदान तथा प्रविधि हस्तान्तरण, क्षेत्रीय क्षमता अभिवृद्धि र सहकार्यलाई विपत्तिबाट जोखिने उपायका रुपमा सुझाइएको छ ।

श्रीलंका, मालदिभ्स, बंगलादेश, म्यान्मा र भारतले सामुद्रिक एवं वायुमण्डलीय सूचना आदानप्रदान गर्दा चक्रवातजस्ता विपत्तिबाट बच्न र पूर्वतयारी गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । सन् १९७० मा बंगलादेशमा चक्रवातका कारण तीन लाख मानिसले ज्यान गुमाएका थिए भने विज्ञान, प्रविधि र सूचना आदानप्रदानको परिणामस्वरुप त्यस्तै विपत्तिबाट सोही मुलुकमा गत वर्ष नौ जनाको मात्र मृत्यु भएको दृष्टान्तसमेत प्रतिवेदनमा समेटिएको छ ।